काठमाडौं । किवीबाट उत्पादित वाइन औपचारिक रुपमा सार्वजनिक भएको छ । माउण्ट एभरेष्ट वाइनरीले उत्पादन गरेको प्रिन्सेस नामक वाइन काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो । मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले किवीको वाइन खोलेर उद्घाटन गरेका थिए ।
नेपालमै पहिलो पटक किवीको वाइन बजारमा आएको भन्दै उनले खुशी व्यक्त गरे । किसानहरुको उत्पादनले बजार पाएको भन्दै वाइन पनि उत्कृष्ट भएको प्रतिक्रिया दिए । नेपाली उपभोक्ताहरुको स्वाद र रुचीमा अध्ययन गरी उत्पादन गरिएको वाइन धेरैले मन पराउने उनको विश्वास छ ।
मदिरा ब्यवसायी महासंघकै केन्द्रीय सदस्य सालिकराम कँडेलले पनि वाइन पारखीको लागि उत्कृष्ट भएको दाबी गरे । औषधीय गुण भएको किवी फलको वाइन धेरै राम्रो भएको उनले बताए ।
नेपालमै पहिलो उत्पादन गुणस्तरीय भएको उनीहरुको भनाई छ । उद्योगी व्यापारीहरुले समेत वाइनको प्रशंसा गरेका छन् । वाइनलाई काठमाडौंले अत्यधिक मन पराएको माउण्ट एभरेष्ट वाइनरीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले बताए । उनले भने, ‘काठमाडौंलाई चखाउन हामीले पहिलो उत्पादन काठमाडौंबाट बिक्री वितरण शुरु गरेका हौं ।’
उनले अब पूर्वी नेपालसँगै अन्य सहरहरुमा तत्काल लैजाने तयारीमा रहेको बताए । ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ कम्पनीका अध्यक्ष हरेराम साहले भने ।
उनले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको बर्ता । स्वदेशी उत्पादन विदेशी भन्दा कम नभएको दाबी गर्दै अध्यक्ष साहले आफ्नै गाउँ पाखामा उत्पादन भएको वाइन चाख्न अनुरोध समेत गरे ।
पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने किवी फल विश्वकै उत्कृष्ट फल हो । अहिले गाउँ घरमा खेर गईरहेको फलबाट वाइन उत्पादन भए सँगै पूर्वी पहाडी जिल्लाका किसानहरु समेत उत्साहित भएका छन् ।
कार्यक्रममा मदिरा व्यवसायी महासंघको निर्माणाधीन भवनको लागि माउण्ट एभरेष्ट वाइनरीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको थियो । उक्त रकम मदिरा ब्यवसायी महासङका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरिएको हो ।