arrow

बर्ष दिनमै तीन अभिभावक गुमाएका युवराजको परिवारलाई काठमाडौंमा जुट्न थाल्यो सहयोग

यूवा व्यवसायी भुपेन्द्र शमशेर कुँवर र पत्रकार दिनेश दाहालले गरे सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
help-transfer-mugu-yubraj-k.jpg

काठमाडौं। एक बर्षमै आफ्ना ३ अभिभावकको वात्सल्य गुमाएर उनीहरुकै किरियामा बस्नु परेका मुगुका एक बालकको परिवारलाई काठमाडौंमा सहयोग जुट्न थालेको छ । बर्ष दिनमै आफ्ना पिता, हजुरबा र हजुरआमा गुमाएका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ र्‍याङ्गचेकाटीका युवराज कुमाल तथा उनको परिवारका लागि काठमाडौंमा सहयोग जुट्न थालेको हो । 

कार्तिक १९ गते हाम्राकुरामा प्रकाशित समाचार पढेपछि केहि मनकारी व्यक्तिहरुले हाम्राकुराको कार्यालयमा आएरै सहयोग हस्तान्तरण गरेका हुन् । यसरी सहयोग गर्नेमा यूवा व्यवसायी तथा समाजसेवी भूपेन्द्र शमशेर कुँवर र पत्रकार दिनेश दाहाल छन् । कुँवर नेपालकै चर्चिक क्लब एलओडीका संचालक हुन् । समाजसेवामा रुची राख्ने कुँवर लकडाउनको बेलामा पनि राहत वितरणमा सक्रिय थिए । उनले कुमाललाई २० हजार सहयोग पठाएका छन् । कुँवरले आफ्ना प्रतिनिधी मार्फत हाम्राकुराको कार्यालयमा सहयोग हस्तान्तरण गरेका हुन् । 

विगत २ दशकदेखि पत्रकारीतामा सक्रिय रहेका पत्रकार दिनेश दाहालले समेत कुमाललाई सहयोग गरेका हुन् । उनले हाम्राकुराको कार्यालयमा आएर प्रधानसम्पादक अजयबाबु शिवाकोटी मार्फत १० हजार सहयोग हस्तान्तरण गरेका हुन् । पत्रकार दाहालले समाचार पढेर मन थाम्न नसकि सहयोग गर्न खोजेको बताए । कुमाल परिवारको लागि सक्ने व्यक्तिहरुलाई सहयोगको लागि उनले आग्रह समेत गरे । 

पछिल्लो पटक हजुरआमाको किरियामा बसेका युवराजको घरको अवस्था अत्यन्त कमजोर रहेको छ । उनको आमा सहित ५ जनाको परिवार गम्भिर आर्थिक संकटबाट गुज्रदा गाँसवासको समस्या परेको छ । विभिन्न मनकारी व्यक्तिहरुले हाम्राकुरामा पठाएको रकम तिहार अघिसम्म संकलन गरि तिहारपछि स्थानिय संवाददाता युद्ध बहादुर मल्लमार्फत सम्बन्धित व्यक्तिको घरमा लगेर हस्तान्तरण गरिने सम्पादक शिवाकोटीले जानकारी दिए ।  



लोकप्रिय समाचार
नयाँ