कोल्ड स्टोर नहुँदा पुष्प किसानहरुले करिब ३० लाख बराबरको नोक्सानी बेहोर्नु पर्ने
नारायण वली,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
55
Shares
रुपन्देही । यसपालीको तिहार पर्व अधिकमासका कारण विगत झैं कार्तिक महिनामा नपरेर मंसिर महिनामा पर्दा झण्डै २०-२२ दिन पछाडि धकिलिन पुगेको छ । तिहारमा चाहिने भाईटिका दिन माला लगाउनका लागि सयपत्री तथा मखमली फूलको धेरै खपत हुने गर्दछ ।
तर यसवर्षको तिहार पर्वको लागि उत्पादन गरेको सयपत्री फूल फुलिसकेकाले लक्ष्य अनुसार तिहार पर्वको लागि फूल आपूर्ति नहुने देखिएको छ । जसका कारण यसपटकको तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आँकलन गरिएको छ ।
अधिकमासले तिहार पर्व केही ढिलो हुने भएकाले यता सयपत्री फुल समयमै उत्पादन भैसकेकाले लुम्विनी प्रदेशमा उत्पादित तयारी फुल राख्ने कोल्ड स्टोर नहुँदा यहाँका किसानहरुले करिब ३० लाख रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु पर्ने बाध्यता सहनु पर्ने अवस्था आएको लुम्विनी पुष्प व्यवसायी संघले वताएको छ ।
अर्को तर्फ तिहारमा लुम्विनी प्रदेशका १२ वटा जिल्लाहरुमा फुलको लक्ष्य अनुसार आपूर्ति नहुने यहाँका व्यवसायिक पुष्प व्यवसायीहरुले वताएका छन् । साथै,उनीहरुले फुल तिहार अगाडि नै फुलिसकेको प्रदेशमा कोल्ड स्टोर नहुँदा उत्पादित फुल खेर जाने भएकाले फुल अभाव संगै मूल्य पनि आकाशिने सम्भावना रहेको लुम्विनी नर्सरी एण्ड गार्डेन रुपन्देहीको मणिग्रामका सञ्चालक तथा लुम्विनी लुम्विनी पुष्प व्यवसायी संघ लुम्विनी प्रदेशका अध्यक्ष रमेश पाण्डेको भनाई छ ।
प्रदेशका १२ वटा जिल्ला मध्ये हाल ९ जिल्लामा व्यवसायिक फूल खेती भैरहेको र पहाडी जिल्लाहरु प्युठान, रोल्पा र रुकुम पूर्व गरी ३ वटा वाँकी रहेको जनाईएको छ । जसमा हाल दिल वहादुर थापा, दामोदर घर्ती, लोकेन्द्र रोका, दण्डपाणी गौतम, विष्णु चौधरी, कमासिंह दर्लामी, सरु पौडेल, दीपक पाख्रीन र सविना पाण्डे लगायतका किसानहरु सक्रिय रुपमा फुल खेतीमा निर्भर हुँदै आएको लुम्विनी पुष्प व्यवसायी संघकी प्रदेश सचिव सरु पौडेलले जनाएकी छिन् ।
पुष्प व्यवसायीहरु भन्छन्, संघियताको उपजमा प्रदेश सरकार स्थापना भएपनि तर प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय वाट पुष्पहरुलाई भण्डार गर्ने कोल्ड स्टोरको व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् । प्रदेशमा हाल सम्म १ सय विगाह क्षेत्रफलमा फूल खेती गरिएको र जसमा प्रत्यक्ष रुपमा पुरुष तथा महिला गरी ५ हजार जनाले रोजगारी पाएका छन् ।