प्रचण्डले पार्टी फुटाउन खोजेको भन्दै ओलीले गुहारे नेपाल सहितका नेताहरुलाई
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
50
Shares
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग पार्टीलाई बचाएर लैजानु पर्ने भन्दै गुहारेका छन् । पार्टी फूटको संघारमा पुगेकाले यसलाई बचाएर लैजानु परेको भन्दै नेताहरुलाई गुहारेका हुन् ।
चार घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफू एकताको पक्षमा रहेको दोहोर्याएका थिए । नेपाल लगायतका नेताहरुले प्रधानमन्त्रीको हैसियतमा बढी जिम्मेवारी भएकाले लचिलो भएर पार्टी कमिटीको बैठक राख्न आग्रह गरेको स्रोतको दावी छ । उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन लागिपरेको संकेत गरेका थिए । ‘पार्टी मैले फूटाउन लागेको होइन प्रचण्डले नै पटक पटक पार्टी फूटाउछु भनेका हुन्’, ओलीको भनाई उल्लेख गर्दै स्रोतले भन्यो । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान बालुवाटारमा चर्काचर्की भएको थियो ।
सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललाई बोलाएर पार्टी एकता जोगाउन गुहारेका हुन् । जवाफमा माधव नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष तपाई नै भएकाले यसको समाधान पनि तपाईले नै गर्नुपर्छ भनेका थिए । ‘पार्टीको अध्यक्ष र प्रधानमन्त्री तपाई नै हो त्यसकारण बढी जिम्मेवारी तपाईको छ, यसमा हामी दोषी छैनौ’, माधव नेपालले भनेका थिए ।
प्रधानमन्त्री ओलीले निकैबेर गुनासो गरेपछि नेपालले सबै समस्याको जड तपाई आफूले नै बोक्नु भएको बताएका थिए । नेपालले समस्याको जड पार्टी कमिटीको बैठक डाकेर फुकाउन ओलीसँग आग्रह गरेका थिए । बैठकमा सबैका कुरा सुनेर समस्या सुल्झाउनुस भन्दै नेपालले तत्कालै सचिवालय बैठक राख्न आग्रह गरेका थिए । उनीहरुबीच लामो कुराकानी भएपनि ओलीले समस्या समाधानको ठोस प्रस्ताव नल्याएको र समस्या सुल्झाउने गरी खास कुराकानी भने नभएको स्रोतले जनाएको छ ।