arrow

एक हजार २ सय सरकारी कर्मचारी कोरोना संक्रमित, सरकारी कार्यालय सुनसान हुँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
sanghiya-mamila-sthaniya-local-development-.jpeg

काठमाडौं । करिब १ हजार २ सय सरकारी कर्मचारी कोरोना संक्रमित  भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूमा एक हजार २सय भन्दा बढी कर्मचारी कोरोना संक्रमित भएको अनुमान गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरुमध्ये कसैले आफू संक्रमित भएको सार्वजनिक गर्ने गरेका छन् भने कसैले गोप्य राख्ने गरेका छन । सार्वजनिक गर्ने या गोप्य राख्ने यसको सबै अधिकार सम्बन्धित कर्मचारीमै नीहित हुने मन्त्रालयको भनाइ छ । करिब डेढ हप्तादेखि मुख्यसचिव शंकरदास वैरागी कार्यालयमा आउन छाडेका छन् । प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु उनलाई कोरोना संक्रमण भएको आशंका गरेका छन् । तर वैरागीले आफू संक्रमित भए नभएको बारेमा केही बोलेका छ्रैनन् । वैरागी कार्यालय आउन छाडे पछि सचिव बढुवा प्रक्रिया ढीलो भएको छ । हाल प्रधानमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयमा ५ जना सचिव पद रिक्त छ । एक दर्जन भन्दा बढी सहसचिवहरु सचिवमा बढुवा हुन लाइन लागेर पर्खेका छन् । 

कोरोना संक्रमित कर्मचारीहरु ‘रिकभर’ को नाममा लामो समयसम्म विदामा बस्न थालेका छन् । कुनै कर्मचारी एक महिना भन्दा बढी घरमा बस्ने गरेको मन्त्रालय स्रोतको भनाइ छ । यसबाट धेरैजसो सरकारी कार्यालयहरु सुनसान देखिन थालेका छन् । सार्वजनिक सेवा प्रदान गर्दै आएका जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, नापी कार्यालय, मालपोत, पासपोर्ट कार्यालय जस्ता कार्यलयहरु समेत सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा कर्मचारीहरुको संख्या घट्न थाले पछि अधिकांश कार्यालयमा अहिले टोकन सिस्टम लागु गरिएको छ । मन्त्रालय स्रोतका अनुसार तल्लो तहका कर्मचारीभन्दा माथिल्लो तहका कोरोना संक्रमित कर्मचारीहरु लामोसमयसम्म घरमा बस्ने गरेका छन् । 

उपचारको नाममा सरकारी कर्मचारीहरु लामोसमयसम्म घरमा बस्न थाले पछि संघीय मामिला मन्त्रालयले कोरोना संक्रमित कर्मचारी बढीमा ३ हप्तासम्म विदा पाउने प्रस्ताव तयार गरेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीको अनुसार उक्त प्रस्ताव केही दिनमै मन्त्रिपरिषद्को बैठकमा लगिने छ । प्रवक्ता अधिकारी स्वयम कोरोना संक्रमित भएर लामोसमय घरमा बसेका थिए । हाल उनी कार्यालय आउन सुरु गरेका छन् । मन्त्रालयका अर्का सहसचिव लक्ष्मी निरौला संक्रमित भएका छन् । हाल उनी होम आइसोलेसेनमा छन् । 

महामारी बढ्न थाले पछि विशेषगरी काठमाडौं बाहिरका सरकारी कार्यालयहरुमा माथिल्लो तहका कर्मचारी विभिन्न बाहना देखाउँदै कार्याललयमा आउन छाडेका छन् । तर मारमा कार्यालय सहयोगी, ड्राइभर, सूचिकार, माली तथा सरसफाइका काम गर्ने कर्मचारीहरु परेका छन् । माथिल्लो तहका कर्मचारीहरु आफू कन्टयाक्ट्र ट्रेसिङमा परेको या अन्य व्यक्तिगत काम देखाउँदै सकेसम्म कम कार्यालयमा आउने गरेका छन्। आए पनि थोरै समय कार्यालयमा बस्छन । भदौको तेश्रो सातादेखि सरकारले सरकारी कार्यालयमा आलोपालो प्रणाली र दुई सिफ्ट प्रणाली खारेज गरेको छ र सबै कर्मचारीलाई कार्यालयमा आउन निर्देशन गरिएको छ । तर उक्त निर्देशन प्रभावकारी रुपमा कार्यान्वयन नभएको सरकारी कार्यालयमा कर्मचारीहरुको उपस्थिति हेर्दा प्रष्ट हुन्छ ।



लोकप्रिय समाचार
नयाँ