arrow

इन्डियन प्रिमियर लिगः दिल्ली पहिलो पटक फाइनलमा, मुम्बईसँग उपाधि भिडन्त

logo
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
ipl-delhi-haidarabad1.jpg

काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले ८ विकेटको नोक्सानीमा १ सय ७२ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि केन विलियम्सनले ४५ बलमा ६७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । 

दिल्लीका कागिसो राबाडाले २९ रन खर्चेर ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली स्पिन बलर सन्दीप लामिछाने आवद्ध रहेको दिल्लीले ३ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो ।

शिखर धवनले ५० बलमा ७८, शिम्रन हिटमायरले २२ बलमा नटआउट ४२, मार्कुस स्टोनिसले ३८ तथा कप्तान श्रेयस एयरले २१ रन बनाए । हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १–१ विकेट लिए ।

१३ संस्करणमा आएर पहिलो पटक दिल्ली फाइनलमा प्रवेश गरेको हो । 

अब दिल्लीले उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार बेलुकी ७ः४५ बजेदेखि दुबईमा हुनेछ ।



लोकप्रिय समाचार
नयाँ