काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गए पनि राजधानी नयाँदिल्लीमा संक्रमितहरु बढिरहँदा चिन्ताको विषय बन्दै गएको छ । भारतमा आइतबार ४६ हजार ६६० जना संक्रमित थपिँदा दिल्लीमा सबैभन्दा बढी ७ हजार ७४५ जना संक्रमित भएका हुन् ।
पछिल्ला दिनमा दिल्लीमा संक्रमित घटाउन प्रयास भइरहँदा पनि राज्य सरकार असफल भएको बताइएको छ । चहलपहल बढिरहँदा संक्रमित पनि बढेको बताइन्छ । दिल्लीमा अहिलेसम्म ४ लाख ३८ हजार ५२९ संक्रमित पुगेका छन् ।
सक्रिय संक्रमित दिल्लीमा मात्रै ४१ हजार ८५७ रहेका छन् । निको हुनेहरु आइतबार ६ हजार ६९ जना छन् । निको हुनेको संख्या ३ लाख ८९ हजार ६८३ जना रहेका छन् ।
आइतबार ७७ जनाको ज्यान गएको छ । अहिलेसम्म दिल्लीमा मात्रै ६ हजार ९८९ जनाको ज्यान गएको छ । दिल्लीमा मात्रै ५० लाख ४९ हजार २० वटा परीक्षण भएका छन् ।
भारतभर संक्रमित हुनेको संख्या ८५ लाख ५३ हजार ८६४ जना रहेको छ । सक्रिय संक्रमित ५ लाख ९ हजार ७१२ जना रहेका छन् । निको हुनेहरु ७९ लाख १५ हजार ६६० जना रहेका छन् ।
आइतबार ४९० जनाको ज्यान गएसँगै कुल मृतकको संख्या १ लाख २६ हजार ६५३ पुगेको छ ।
सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ४५ हजार २४० जनाको भएको छ ।