काठमाडौं । स्पेनिश क्लब बार्सिलोनाका पूर्व स्टार एवं क्यामरुनी फुटबल स्टार स्यामुएल इटो सडक दुर्घटनामा परेका छन् । उनी कार दुर्घटनामा परेका हुन् । क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा इटो चढेको कार विपरित दिशाबाट आईरहेको बससँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा परेपनि कारमा सवार सबैजना सकुशल छन् । दुर्घटनापछि अस्पताल पुगेका इटोलाई सामान्य चोट लागेको जनाईएको छ । तर, उनको कारको अगाडिको भागमा भने पूर्ण क्षति भएको छ ।
२२ वर्षे खेल जीवनबाट गत वर्षमात्रै सन्यास लिएका इटोले गत वर्ष कतारी क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । ३९ वर्षीय इटोले ७१८ क्लब खेलमा ३५९ गोल र ११६ एसिस्ट गरेका थिए ।
चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले ४ च्याम्पियन्स लिग, ३ ला लिगा र १ सिरी ुएु उपाधि जितेका छन् ।
चेल्सी र इन्टर मिलानबाट समेत खेलेका इटोले क्यामरुनबाट ११८ खेलमा ५६ गोल गरेका थिए । उनले आफ्नो राष्ट्रको लागि ओलम्पिकमा स्वर्ण र अफ्रीका कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।