काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा ‘घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान’ थालेका गरेका छन् ।
गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसर पारेर काठमाडौं क्षेत्र नम्बर ८ मा उनले शोभा भगवतीमा रहेको सिंहको शालिकमा माल्यार्पण गर्दै अभियान शुरु गरेका हुन् ।
कोरोना भाइरसको महामारीभर यो अभियान जारी राख्ने प्रतिवद्धता जनाउँदै उनले जनताको घरघरमा पुगेर मास्क, अत्यावश्यक औषधी, अक्सीमिटर र थर्मोमिटर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेका हुन् । त्यसका साथै विभिन्न जनचेतनामुलक प्ले कार्डहरु समेत वितरण गरेका छन् ।
अभियान अन्तर्गत संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने जोशीको भनाइ छ ।
जोशीले कोरोनाका कारण जटिल समस्या देखापरेमा तुरुन्त आफू लगायतका साथीहरुलाई सम्पर्क गर्नसमेत घर दैलो अभियानमा जनतामाझ बचन दिएका छन् ।
त्यस्तै जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेत लगायतका विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको जनाइएको छ ।