टेलिफोन गरि समय लिएर गएका प्रचण्डले प्रधानमन्त्री भेट्न पर्यो कुर्न
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
102
Shares
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आज दिउसो चार दिनपछि प्रधानमन्त्री केपी ओलीसँग भेट्न पुगे । सहयात्री चार जना नेताहरुलाई पार्टी कार्यालयमा बोलाएर उनी वालुवाटार हानिएका थिए । ओलीसँग टेलिफोनमा समय लिएरै गएका प्रचण्डलाई केही मिनेट वेटिङ रुममा कुराइएको थियो । ‘प्रधानमन्त्री ज्यू सरकारी काममा व्यस्त हुनुहुन्छ भनेर केही मिनेट वेटिङ रुममा राखियो’, स्रोतले भन्यो । केही मिनेटको पर्खाइमा प्रचण्डले ओलीसँग भेटघाट गरे । भेट शुरुमा सौहार्दपूर्ण वातावरणमै चलेको थियो ।
कुराकानीकै क्रममा ओलीले सांकेतिक रुपमा वालुवाटार तपाईको पखाईमा बसेको छ सधै तपाईलाई वालुवाटारको गेट खुला छ भनेका थिए । तर प्रचण्ड भने कुनै प्रतिक्रिया नदिइकन मुस्कुराई मात्रै रहे । त्यसपछि ओलीले साथीहरुलाई कहाँ पर्खाएर आउनु भएको भनेर सोधेका थिए । दाहालले पार्टी कार्यालयमा बोलाएको छु भनेपछि ओलीले किन पार्टी कार्यालयमा बोलाउनु भएको त यतै लिएर आउनु भएको भए हुन्थ्यो नि भनेपछि दाहालले उता सल्लाह छ भन्ने जवाफ दिएका थिए । ओली उता गर्ने सल्लाह यतै गर्दा हुन्थ्यो यता भए तातो पानी खादै बस्नु हुन्थ्यो भन्दै ठट्टा गरेर दाहाललाई त्यतिकै फर्काउने विचार गरेपछि दाहालले सचिवालय बैठक कहिले राख्ने हो भनेर सोधेका थिए ।
ओलीले अहिले नै कि हतार गर्नु, बैठक त तपाईहरुले गर्दै हुनुहुन्छ, म सहभागी नभएको त हो नि तपाई गर्दै गर्नुन भनेर फेरी दाहाललाई जिस्काएका थिए । वालुवाटार निकट स्रोतका अनुसार बैठक बोलाउने विषयमा विषयमा नेकपाका दुई अध्यक्षबीच मंगलबार पनि खास राम्रो संवाद भएन । ‘धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठकमा बोलाएर प्रचण्ड वालुवाटार प्रवेश गरेपछि ओलीले बैठकको विषय नै सुन्न चाहेका थिएनन । दाहालले भोलि काठमाडौ बाहिर जान लागेका ओलीलाई भोलि काठमाडौं बाहिर जाने हो भने विहिबारलाई बैठक राखौ भन्ने प्रस्ताव गरे । तर ओलीले बैठक राख्ने नै हो भने विहिबार नै भन्नु भन्दा पनि तपाई र म बसेर एजेण्डामा सहमति गरौ भनेका थिए ।
दाहालले जवाफमा सबै विषय बैठकबाटै छिनोफानो गरौ भनेपछि ओलीले के साँच्चै भिड्न खोज्नु भएको भनेर अर्को प्रश्न गरेर दाहाललाई अक्क न बक्क बनाएका थिए । नेकपा उच्च स्रोतका अनुसार सचिवालय बैठकमा ओलीसँगको भेटबारे माधव नेपालसहितका अन्य सदस्यहरुलाई विफ्रङ गर्दा ओलीजीले मजाक गर्नु भयो भनेर गुनासो गरेका थिए । ‘मैले बिहीबार बैठक बसौं भनें । तर, उहाँ (ओली) ले अहिले नै बैठक किन भन्ने प्रश्न गर्दै पहिला हामी सहमति गरौं । त्यसपछि बैठक बसौंला भन्नुभयो । त्यसपछि मैले अब तुरुन्तै बैठक गर्नुपर्छ भनें। हामीले हिजोसम्म समय दियौं । अब भोलि तपाईं बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरे तर उहाँले कुनै जवाफ दिनु भएन,’ स्रोतले दाहालको भनाई उद्धृत गर्दै भन्यो ‘तपाईंहरु भिड्नै खोजेको हो ? भिड्नै खोजेको हो भने भिडौं होइन भने केही दिन कुर्नुस बैठक बसौला ।’
धुम्बाराहीमा मंगलबार साँझ बसेको दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले बिहीबारसम्म औपचारिक बैठकका पर्खने निर्णय गरेको छ । त्यत्तिबेलासम्म पनि ओली तयार नभए औपचारिक बैठकतिर अगाडि बढ्ने उनीहरुको योजना छ । यसअघि मंगलबार विहान शंकर पोखरेल दाहाल निवास पुगेर ओलीले बैठक बोलाउने र स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्ने संकेत दिएका थिए ।