काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको महामारीविरुद्धको खोप निकाल्ने होड छ । कसले पहिले खोप निकाल्ला र विश्वभर प्रभाव जमाउँला भन्ने होड ठूला देशहरुमा छ । साना र अल्पविकसित देशहरुलाई भने त्यो खोप कहिलेसम्म आउला र मानवीय क्षति कम गरौंला भन्ने चिन्ता छ । यसैबीच रुसले तयार गरिरहेको कोरोना भाइरस विरुद्धको खोपको ट्रायल उत्साहजनक भएको बताइएको छ ।
यसको प्रारम्भिक नतिजाले खोप ९२ प्रतिशत प्रभावकारी भएको देखाएको छ । बताइए अनुसार १६ हजार स्वयंसेवकलाई दिइएको उक्त ‘स्पट्निक भी’ खोपले उत्साहजनक प्रतिफल दिएको हो । वैज्ञानिकहरुले यसलाई खुशीयालीका रुपमा लिनुपर्ने बताएका छन् । केही दिन अगाडि अमेरिकाको फाइजर र जर्मनीको बायोएनटेक कम्पनीले ४३ हजार मानिसमा गरिएको परीक्षणपछि खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएको थियो ।
स्पट्निको तथ्यांक तुलनात्मक रुपमा थोरै मानिसमा आधारित भए पनि प्रारम्भिक नतिजालाई वैज्ञानिकले उत्साहजनक रुपमा लिएका हुन् । यो खोप मास्कोस्थित नेशनल रिसर्च सेन्टर फर एपिडेमिओलोजी एण्ड माइक्रोबायोलोजीले तयार गरेको हो । रुसी अनुसन्धानकर्ताका अनुसार स्वयमसेवकहरुले दुईमध्ये खोपको पहिलो डोज लगाएको २१ दिनसम्म कुनै गम्भीर साइड इफेक्ट देखिएको छैन । पूरा तथ्यांक संकलन भएपछि मात्र आधिकारिक मान्यता दिन सकिने बताइएको छ ।