काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न असफल केपी शर्मा ओली नै कोरोना भाइरस फैलाउने अभियानमा लागेको उनकै गतिविधीले खुलेको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलो पटक बुधवार काठमाडौं बाहिर संखुवासभा पुगेका ओलीले सबै प्रोटोकलहरुलाई मिच्दै उक्त अभियानको सचित्र उदाहरण पेश गरेका हुन्।
कार्यक्रममा बोलिरहँदा सयौं जना जम्मा भएका थिए। उनी संखुवासभा पुग्दादेखि नै नेकपाका उनका गुटका नेता तथा कार्यकर्ताहरु अनुहार देखाउने लोभमा भीड गरिरहेका थिए। त्यस्तै सयौं जना भेला गराएर उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड उल्लंघनसमेत गरेका छन्।
स्वास्थ्य मन्त्रालयले जब भीडभाड नगर्नु भनिरहेको छ भने ओली कुन हैसियतले त्यहाँ पुगेर भीड भेला पारे ? अझ रोचक कुरा त के भने जिल्ला प्रशासन कार्यालय संखुवासभाले ती सबै कुरामा प्रतिबन्ध लगाएको सूचना जारी गरेको थियो । मानिसको जमघटमा प्रतिबन्ध लगाएको छ । अनि तिनै प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीको स्वागतको समन्वय गर्छन् । त्यो भन्दा चाकडीको पराकाष्टा के होला ?
ओली सरकारले चैत ११ गतेदेखि नै मठमन्दिर खोल्न दिएको छैन । पशुपतिनाथको मन्दिर खुलेको छैन । अर्थात् धार्मिक आस्था राख्नेहरुलाई मन्दिर जान प्रतिबन्ध छ । विश्वका अन्य देशमा पनि मन्दिर, मस्जिद, गुम्बाहरु छन् । त्यहाँ पुग्दा पनि स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गरिएका छन् । तर यहाँ धार्मिक संस्था बन्द छन् । देउसी नखेल्न उर्दी जारी गरिएको छ तर राजनीतिक देउसी खेल्न केपी ओलीले संखुवासभामा ठूलो भीड जम्मा गरिदा केपी ओलीको लोकप्रियताका कारण जनता ओइरिए भन्न थालिएको छ । जहाँ गुट हावी भएपछि नेकपा, कांग्रेस सहितका दलले प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गरे।
ओली सरकारले कोरोना भाइरसका सक्रिय संक्रमित २५ हजार नाघेपछि देशभर पुनः लकडाउन लगाउने बताएको थियो । सक्रिय संक्रमित ४५ हजारसम्म पुग्दासमेत सरकारले लकडाउन लगाउन उचित ठानेन ।दुई लाखभन्दा बढी संक्रमित पुग्दा सरकारले गैरजिम्मेवार तरिकाले कोरोना संक्रमितको उपचार नगर्ने र पीसीआर परीक्षण निःशुल्क नगर्ने बताएको थियो । दवावमा आएर अहिले निःशुल्क गर्ने भने पनि त्यो सहजै हुन सकेको छैन ।
अस्पतालमा चार भागको एकभाग मात्र संक्रमितहरु छन् । बाँकी घरमै बसिरहेका छन् । जसका कारण गम्भीर स्वास्थ्य समस्या भएको मात्र छैन घरघरमा कोरोनाको संक्रमण फैलिएको छ । विज्ञहरुलाई बालुवाटारमा बोलाएर रमिता गरेका ओलीले कोरोना नियन्त्रणका उपाय विज्ञहरुबाट सुन्नुको सट्टा आफूले गरेका कामहरुको प्रगति सुनाएर ‘आत्मप्रशंसा’ का वाक्यहरु सुनाएर विज्ञहरुलाई पठाएका थिए । सहभागी विज्ञहरुले नै भनेका थिए, ‘हाम्रा कुरा सुन्नुभन्दा पनि उहाँका कुरा सुन्न हामी गएको जस्तो भयो ।’
कोरोनाको स्थिति काठमाडौं उपत्यकामा निकै गम्भीर मोडमा पुगेको छ । आधा संक्रमित उपत्यकामा तीन जिल्लामा छन् । आधा भन्दा बढी सक्रिय संक्रमित उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा छन् । मृतक झण्डै आधा उपत्यकाका हुन् । तर सरकारलाई यसबारेमा कुनै मतलब छैन । ओलीले रमिता हेरिरहेका छन् । उनका लागि राज्यले करोडौं रुपैयाँ खर्च गर्न सक्छ । गरिब जनताले तिरेको कर उनका लागि खर्च गर्न राज्य तयार हुन्छ । तर उनी राज्यकै पैसा र जनता आफूले पसिना बगाएर तिरेको कर जनताका लागि खर्च गर्न तयार छैनन् ।
बुधबार मात्र उपत्यका मेयर फोरमले चाडपर्वपछि अर्थात् छठ सकिएपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । सीसीएमसीका पदाधिकारीहरुसँग भएको छलफलका क्रममा फोरमले काठमाडौं उपत्यकामा मानिस बचाउनका लागि पनि कडा नीति बनाउनु पर्ने माग गरेका हुन् ।
तर सीसीएमसी नै सुस्त भएको आरोप छ । सीसीएमसी गैरजिम्मेवार भएकै कारणले पनि कोरोना फैलिएको आरोप लाग्दै आएको छ । सीसीएमसीको सिफारिस मन्त्रिपरिषदमा जाने र मन्त्रिपरिषदका निर्णयमा लाहाछाप लगाउने काम ओलीले गर्ने भएकाले यो सबै अपजश ओलीले नै बोक्नुपर्नेमा विज्ञहरुको राय छ ।
अन्य दलका नेताहरुले त ओलीलाई जिम्मेवार बनाएकै छन् । नेकपाभित्रका बहुमत नेताहरु पनि सरकारले कोरोना नियन्त्रण गर्न असफल भएको बताइरहेका छन् । कोरोनाको महामारीका कारण नेकपाको केन्द्रीय कमिटी बैठक सार्ने ओलीलाई संखुवासभाको भीड जम्मा गर्ने आँट कहाँबाट आयो ? के प्रधानमन्त्री जिम्मेवार बन्नपर्दैन? गैरजिम्मवारी कहिलेसम्म ?