arrow

उइगुर मुस्लिम समुदायमाथि चिनियाँ अत्याचारविरुद्ध नेपालमा प्रदर्शन

१८ लाख उइगुर मुस्लिमहरुलाई जेलमा तथा १० लाखलाई यातना केन्द्रमा राखिँँदा पनि किन विश्व जनमत चीन विरुद्ध उभिन नसकेको भन्दै प्रश्न

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
muslim-ekata.jpg

काठमाडौं । उइगुर मुस्लिम समुदायमाथि चीनले आफ्नो देशमा गर्दै आएको अत्याचारविरुद्ध नेपालमा प्रदर्शन भएको छ । नेपालमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरुले चीनमा उइगुर मुस्लिम समुदायमाथि अत्याचार गरी नरसंहार मच्चाएको भन्दै चीन सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।  

उइगुर मुस्लिम समुदायलाई स्वतन्त्रता देउ, उइगुर मुस्लिम समुदायको मानवअधिकार बहाली गर लगायतका प्लेकार्ड र व्यानर बोकेर जमाइत उलेमा नेपाल नामक मुस्लिम संगठनले काठमाडौंमा प्रदर्शन गरेको हो । 

सो संगठनले मोरङ, रुपन्देही, सिरहा लगायतका जिल्लामा एकैपटक प्रदर्शन गरेको हो । सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत उनीहरुले नेपाल सरकारलाई चीनमा रहेका उइगुर मुस्लिमहरुको मानवअधिकार रक्षाका लागि पहल गरिदिन अपिल गरेका छन् । 

विभिन्न जिल्लामा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले चीनमा मुस्लिम समुदायमाथि भएको दमनको विरोध गरेका थिए । चीनमा अहिलेसम्म १५ हजार मस्जिद भत्काइएको, शौचालयमा रुपान्तरण गरिएका लगायतका बिषय प्रदर्शनकारीहरुले उठाएका थिए ।

विश्वभरका मुस्लम समुदाय किन चीनमा मुस्लिम समुदायमाथि भइरहेको अत्याचारका विरुद्ध मौन छ भन्दै उनीहरुले आफ्नै समुदायमाथि समेत प्रश्न उठाएका थिए । उनीहरुले चीन सरकारले तत्काल मस्जिद  भत्काउने काम बन्द गर्नुपर्ने माग राखेका थिए। 

मुस्लिम समुदायलाई रोजा बस्न चीन सरकारले रोकेको बिषयमा पनि आपत्ती जनाउँदै उनीहरुले हिजाव पहिरिन पाउनुपर्ने पनि माग गरेका थिए। 

१८ लाख उइगुर मुस्लिमहरुलाई जेलमा तथा १० लाखलाई यातना केन्द्रमा राखिँँदा पनि किन विश्व जनमत चीन विरुद्ध उभिन नसकेको भन्दै प्रश्न गरेका थिए। पीडामा रहेका समुदायलाई नै चीनले मास्नेतर्फ लागेको उनीहरुको चिन्ता थियो । 

उइगुर समुदायमाथि चिनियाँ दमनको विरुद्ध संयुक्त राष्ट्रसंघ र मुस्लिम समुदाय कस्ले उजुरी सुन्ने हो उनीहरुले गम्भिर प्रश्न उठाएका थिए । 

विभिन्न जिल्लामा प्रदर्शन भइरहँदा सामाजिक संजालमा पनि #IndependenceForUyghurs ह्यासट्यागमा उइगुर समुदायप्रति ऐक्यवद्धता प्रदर्शन भएको पाइएको छ ।



लोकप्रिय समाचार
नयाँ