नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट संक्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक संक्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना संक्रमित थपिएका छन् । भारतमा योसँगै कुल संक्रमितको सङ्ख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय संक्रमित अवस्थामै रहेका थिए ।
भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ ।