काठमाडौं। विवेकशील नेपाली दलले साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा गरेको छ। विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएको थियो।
यही कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने की नगर्ने भनी आफ्नो राय मतदानमार्फत व्यक्त गरेका थिए। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए।
दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुन सक्ने पाण्डेले बताए। यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचारसंहिता बनाएर विधि पद्धति बमोजिम तयारी गरेको उनले बताए।
मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। 'वैकल्पिक सुसंस्कृत राजनीति भनेको भाषण र दस्ताबेजमा मात्र नभएर अभ्यासमा पनि सहभागितामूलक लोकतन्त्र, सदस्यहरूको सार्वभौमिकता र नागरिक केन्द्रित सङ्गठन हो भन्ने हाम्रो दृढ विश्वास छ,' अध्यक्ष पाण्डेले भने ।
शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गरेको हो। यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलले विश्वास लिएको छ।