arrow

अर्थमन्त्री पौडेल र स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरबीच शिष्टाचार भेट

स्वीट्जरल्याण्डले १ अर्ब २६ करोड नेपाली रुपैयाँ बराबरको प्राविधिक सहायता दिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
bishnu-poudel-Swiss-ambassd.jpg

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरेका थिए । अर्थमन्त्री पौडेलले कोभिड १९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोश्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद दिएका थिए।  

राजदूत एलिजावेथ भोन क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गरेकी थिइन। देशको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको विषय औल्याएकी थिइन। साथै प्रधानमन्त्रीले सार्नु भएको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरिन्। उनले संघीयता कार्यान्वयनमा नेपालले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएकोमा खुशी व्यक्त गरिन्। कोभिड १९को महामारी नियन्त्रणमा स्वीस सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्बता समेत व्यक्त गरिन् ।

भेटका अवसरमा नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच चौथो चरणको मोटोरल लोकल रोड्स ब्रीज प्रोग्राम (एमएलआरबीपी)को लागि १ अर्ब २६ करोड नेपाली रुपैयाँ बराबरको प्राविधिक सहायता परिचालन गर्न द्बिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारकातर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ