arrow

ओली दलाल र नोकरशाही पक्षपोषक भएको दाहालको गम्भीर आरोप

ओलीले आफ्नो आङको भैसी नदेख्ने अर्काको जुम्रा देख्ने दाहालको आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
ncp-meet-mcc-oli-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पार्टी दुई अध्यक्षबीच आरोप प्रत्यारोप लिखित रुपमै भएको छ । पार्टीकै कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउदै लिखित प्रतिवेदन पेश गरेपछि आरोप प्रत्यारोप लिखित रुपमा सतहमा आएको हो । 

प्रचण्डले सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीलाई दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी जस्ता गम्भीर आरोप लगाएका छन् । सचिवालय बैठकको शुरुमै दाहालले आफ्नो छुट्टै राजनीतिक प्रतिवेदन पेश गरेर ओलीको व्यक्तिवादी, एकाधिकारवादी र गुटवादी सोच रहेको आरोप लगाएका छन् । उनले पार्टी र सरकारको सम्बन्धमा आपसी तालमेल र समन्वयको ठूलो अभाव रहेको जनाएका छन् ।

‘पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ । हाम्रो आजको संवैधानिक र राजनैतिक व्यवस्था अन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यवहारिक निरुपण हुन सकिरहेको छैन । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ,’ उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ‘वाम गठबन्धन र कम्युनिष्ट एकताबाट अतालिएका देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु हाम्रो यो स्थितिबाट हौसिदै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विरुद्ध तथा हाम्रो पार्टी र कम्युनिष्ट आन्दोलनका विरुद्धको आफ्नो षडयन्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाइरहेका छन् । आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवम् असलग्न परराष्ट्र नीतिको अगाडि नयाँ चुनौति थपिएका छन् ।’

दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् नेपाल कम्युनिष्ट पार्टीका अगाडि निकै नै गम्भीर समस्या खडा गरेको उल्लेख छ । ‘ यी गम्भीर र जटील समस्याहरुको सामना अब स–साना प्राविधिक जोड घटाउ वा पदीय भागवण्डाबाट गर्नु असंभव छ । यसका निमित्त वैचारिक–राजनैतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समिक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ’, उनले भनेका छन् । उनका अनुसार ओली दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई पछ्याउने व्यक्ति हुन् । ‘व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ’, दाहालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नयाँ पुस्तालाई नेतृत्व दिने ओलीको प्रस्ताव आदर्श र चिल्ला कुरा मात्रै रहेको प्रचण्डको आरोप
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच पत्र ‘युद्ध’ शुरु भएको छ । कात्तिक २२मा दाहालसहित पाँच नेताले पार्टीको सचिवालय बैठक राख्न अनुरोध गर्दै लेखेको पत्रको जवाफमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आँट गर्न आग्रह गरेका छन् भने त्यसको जवाफ फर्काउदै दाहालले ओलीको कुरालाई आर्दश र चिल्ला कुरा मात्रै भएको जनाएका छन् ।

ओलीले नयाँ पुस्तामा रहेका नेतालाई नेतृत्व दिने विषयमा यसअघि पनि कुरा उठाउदै आएका भएपनि दाहाललाई लेखेको जवाफी पत्रमा आँट गरौ अब आउने औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पेर पार्टी आन्दोलन, देश र जनतालाई गुन लगाऔ भनेका छन् । क्रियाशील क्षमतावान नयाँ पुस्ताले म त्यो पदमा पुगेर जिम्मेवारी सम्हाल्छु भन्ने मौका नपाउने भन्दै बूढाहरुको लडाइमा मिलिदिनुस भनेर कति दिन बस्ने प्रश्न समेत गरेका छन् । त्यसको जवाफमा दाहालले तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेख्नु भएको छ, तर व्यवहारमा भने यदि कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुल्ला रुपमा गरिरहनुभएको छ । विघटन भईसकेको पार्टीको महाधिवेशनले छानेका अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ भनेर ओलीलाई जवाफ फर्काएका छन् ।

कमरेड ल मैले फकाएँ

ओलीले भने दाहाललाई पार्टीमा कचपच, सहमति र फेरि कचपचको श्रृखला कहिलेसम्म भनेर प्रश्न गरेका छन् । केही दिनको कचपच, एकखाले सहमति र त्यसको २ र४ दिनमा फेरि कचपच हुने गरेको भन्दै उनले प्रश्न गरेका छन्, यो तमासाबाट अझै आजित हुनुभएको छैन ? भन्दै दाहाललाई प्रश्न गरेका छन् । उनले प्रचण्डले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गरेका छन् । मुलुकको समृद्धि, जनताको खुशहाली र पार्टीलाई थप समृद्ध बनाउन प्रचण्डलाई फकाउन तयार रहेको भन्दै उनले भनेका छन्, ल मैले फेरि फकाएँ । आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं भन्दै ओलीले दाहाललाई व्यंग्य गरेका छन् । त्यसको जवाफमा दाहालले आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास व्यक्त गर्दछु भन्दै नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाई तिर लैजानु छ भनेका छन् । उनले एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमिक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनु भयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ । यत्ति भएमा तपाईले पत्रको अन्तिममा भने झैं म सजिलै फकिने छु भनेका छन् ।

प्रचण्डलाई नियुक्ती र भर्तीमा मात्र चासो

दुवै नेताले एकले अर्कालाई आरोप लगाउदै पत्राचार गरेका छन् । ओलीले आफ्नो आलोचना गर्ने पाँच नेतामाथि बोल्दा नीति, विधि, पद्दतिको कुरा गर्ने, तर व्यवहारमा एकलव्य बनेर सरकारमा ध्यान दिएको, आफ्नो मान र अभिमान, नियुक्ति र भर्तिका विषयमा बहस गर्ने, आक्रोस पोख्ने र चित्त दुखाउनेभन्दा अरु कुनै विषयमा छलफल गर्न रुची नराखेको आरोप लगाएका छन् । दशकौं पार्टी चलाइसकेका, प्रधानमन्त्री वा त्यस्तै महत्वपूर्ण पद सम्हालिसकेका नेताहरुको आकांक्षाका कारण कृत्रिम र बलजफ्ती समस्या खडा भएको उनको दावी छ । आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा अध्यक्ष ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो समाउनु पर्ने उनको धारणा छ । महाधिवेशन प्रतिनिधिबाट चुनिने र आगामी चुनावसम्म नेकपाको भविश्य सुरक्षित हुन्छ भन्ने विश्वास टुटिसकेको त होइन ? भन्दै उनले प्रश्न गरेका छन्, ‘होइन भने किन सधैंभरि सरकार परिर्वतनको दौडधूप ?’ भन्दै प्रश्न गरेका छन् । ‘कसैले ३०-३५ वर्षदेखि हातमा डाडु पन्यू लिने, आफू र आफ्नाहरुलाई पोसिरहने, कोहीले भने भान्सामा हेर्नसमेत नपाउने परिपाटी अन्त्य हुनपर्छ’, ओलीले भनेका छन् ।

ओलीले हलो अड्काएर गोरु चुटे

दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर पनि ओलीले काम गर्न नदिएको आरोप लगाएका छन् । ‘एकातिर तपाईं कार्यकारी अध्यक्ष दिईसकेपछि गरेर देखाउनु पर्‍यो भन्नुहुन्छ, अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको अड्डी लिनुहुन्छ । यसलाई हलो हड्काउने र गोरु चुट्ने काम बाहेक अरु के बुझ्ने कमरेड ?’, उनले भनेका छन् ।

ओलीले दिउँसै रात पार्ने गरे जाली कुरा 

दाहालले राजदूत नियुक्तिका सन्दर्भमा हाम्रोबीचमा छलफल अवश्य भएको हो तर सबै कुरा मिलेको पनि होइन भन्दै त्यो भन्दा पनि मुख्य कुरा राजदूत नियुक्ति गर्नु अघि स्थायी समितिको मर्म र भावना अनुसार एकपटक सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्दछ भन्ने मेरो भनाईमा कमरेडले ‘हुन्छ’ भनेर सहमति जनाए पनि आफू बालुवाटाबाट निस्किए पछि त्यसै दिनको क्याविनेटबाट आफूलाई पनि थाहा नदिईकन राजदूत नियुक्ति गरेको र पत्रमा सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ? भनेर प्रश्न गरेका छन् ।

ओलीले आफ्नो आङको भैसी नदेख्ने अर्काको जुम्रा देख्ने

‘एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरु एवम् सचिवालयका सदस्यहरुसँग गरेको भेटघाट र सरसल्लाहलाई तपाईं गुटबन्दी ठान्नुहुन्छ । तपाईंले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्ने र सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने स्थायी समितिको निर्देशन विपरित तपाई समेतको निर्देशनमा कहिँ जिल्लास्तरीय, कहिँ प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन के हो नि कमरेड ? अनि बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला बैठकहरु गुटबन्दी होइनन्र ? अर्काको आङ्गको जुम्रा देख्ने र आफ्नो आङ्गको भैसी पनि नदेख्ने भनेको यहि होइन र ?’, दाहालले भनेका छन् ।



लोकप्रिय समाचार
नयाँ