काठमाडौं । अर्थ मन्त्रालयले विहीबार एकै पटक पाँच दर्जन भन्दा बढी राजस्व समुहका उपसचिवहरुलाई सरुवा गरेको छ । यसअघि, उपसचिव प्रमुख हुने आकर्षक कार्यालयमा सरुवा हुन अर्थ मन्त्रालय मातहतका १ सय ६८ राजस्वका उपसचिवहरुको दौडादौड गरेका थिए ।
मन्त्रालयका अनुसार रसुवा भन्सारमा रामप्रसाद रेग्मी तथा भैरहवा भन्सारमा मनिराम पौडेल सरुवा भएका छन । रसुवा भन्सारका प्रमुख पुन्यविक्रम खड्कलाई काठमाडौं तानिएको छ । रेग्मी यसअघि राजस्व अनुसन्धान विभागमा कार्यरत थिए । पौडेल भने यसअघि वीरगञ्ज तथा बिराटनगर भन्सार कार्यालयमा काम गरीसकेका छन् । अर्थका कर्मचारीहरु भैरहवा र रसूवा भन्सारमा सरुवा हुने उपसचिवहरुलाई शक्तिशाली उपसचिव मान्छन् । यी दुई उपसचिवहरु अर्थ सचिव शिशिरकुमार ढुंगाना निकट मानिन्छन । स्रोतका अनुसार यसपटक उपसचिव सरुवामा अर्थमन्त्री विष्णु पौडेलले ढुंगानालाई जिम्मा दिएका थिए । त्यसैले ढुंगानाले आफू निकट कर्मचारीलाई आकर्षक कार्यालयमा सरुवा गरेका छन् ।
मन्त्रालयले बिहीबार एकै पटक २ बर्षभन्दा बढी अवधि पुगेका भन्सार, कर कार्यालय, आन्तरिक राजस्व कार्यालयमा सरुवा गरेको छ । सामान्यतया दुई वर्ष अवधि पूरा भए पछि अवधि पूरा भएकालाई सरुवा गर्ने नियम छ । वीरगञ्ज र एयरपोर्ट भन्सारमा भने सहसचिव सरहको कर्मचारी प्रमुख हुने व्यवस्था छ । वीरगञ्ज र एयरपोर्ट बाहेक अन्य भन्सार कार्यालयमा उपसचिव सरहको कर्मचारी प्रमुख हुने प्रावधान छ ।
एयरपोर्ट भन्सारमा किशोर बडतौला सरुवा भएका छन् । तर उनी त्यहाँ प्रमुख हुन पाउँदैनन । किनभने त्यहाँ सहसचिव प्रमुख हुने व्यवस्था छ । बडतौला सब्र्बोच्चको आदेश पछि भरखरै मात्र अर्थ मन्त्रालयमा हाजिरी हुन आएका थिए । यसअघि उनी लामो समय प्रदेशमै कार्यरत थिए । यसपटक मन्त्रालयले भैरहवा र रसुवा मात्र नभइ नेपालगंज, कृष्णनगर, महेन्द्रनगर, धनगढी भन्सार कार्यालयमा सरुवा गरेको छ । यसैगरी, त्रिपुरेश्वर, न्युरोड र कोटेश्वरका करदाता कार्यालयमा, नेपालगञ्ज, धुलिखेल, दमक, लहान, चितवन, बीरगंज, धुलिखेल, बुटवल कृष्णनगर, धनगढी लगायतका विभिन्न ठाउँमा सरुवा गरेको छ ।
ध्रुव पोखरेललाई ठूला करदाता कार्यालय, नरेन्द्र पाण्डेलाई आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा सरुवा गरिएको छ । यसैगरी राजेन्द्र चुडाललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरमा सरुवा गरिएको छ । नरबहादुर थापलाई कैलाली भन्सारमा सरुवा गरिएको छ भने सुवोध खतिवडालाई आन्तरिक राजस्व कार्यालय बालाजु सरुवा गरिएको छ । यसैगरी तिलक खड्कालाई आन्तरिक राजस्व कार्यालय कोटेश्वरमा सरुवा गरिएको छ ।
मन्त्रालयले भन्सार सहित आकर्षक कार्यालयहरुमा उपसचिव फेरबदल गर्ने तयारी गरीरहेको बेला मन्त्रिपरषदले अघिल्लो साता मात्र प्रदेशमा काजमा कार्यरत १४ जना उपसचिवहरुलाई मन्त्रालयमा हाजिरी गराएका थियो । यसबाट आकर्षक कार्यालयमा सरुवा हुन चाहेका उपसचिवहरुवीच प्रतिष्पर्धा झन चर्को भएको थियो ।
तत्कालिन सरकारले २०७४ असार र फागुन गरी २ पटक प्रत्येक प्रदेशमा २-२ जनाको दरले ७ वटा प्रदेशमा १४ जना उसचिवलाई काजमा खटाएको थियो । २०७५मा गरिएको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्बेमा उनीहरुलाई त्यहीं राखियो । सरकारले गरेको यस्तो निर्णयबाट आफूमाथि अन्याय परेको भन्दै २०७५ फागुनमा प्रदेशका कार्यरत उपसचिवहरुले सर्बोच्चमा रिट दायर गरे । २०७५ फागुन २२ गते सर्वोच्चले १४ जना उपसचिवमाथि अन्याय भएको भन्दै प्रदेशमा समायोजन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न /नगराउन अन्तरिम आदेश गर्यो । सर्वोच्चको आदेश करिब २ वर्षसम्म कार्यान्वयन गरिएन । अघिल्लो सातामा मात्र मन्त्रिपरिषदले प्रदेशमा कार्यरत उपसचिवहरुलाई अर्थमा ल्याउने निर्णय गरेको थियो ।
सर्वोच्चको आदेशबाट अर्थमा हाजिरी गर्न सुरु गरेका राजस्व समुहका उपसविचहरुमा निरन भट्टराई, ध्रुव पाण्डे, किशोर बर्तौला, जनार्दन पौडेल, घनश्याम पन्थी, अर्जुनकुमार न्यौपाने, राजेन्द्रप्रसाद चुडाल छन् । यसैगरी हरिहर पौडेल दिलिप केसी, नवराज अर्याल, निरन भट्टराई, सुदिशकुमार अर्याल, तिलकबहादुर खड्का, गजेन्द्रप्रसाद यादव र दिनेश पाण्डे लगायतका उपसचिवहरु सब्र्बोच्चको आदेश पछि अर्थमा हाजिरी गर्न सुरु गरेका हुन् । यी मध्ये जनर्दन पौडेललाई कृष्णनगर भन्सार कार्यालय, निरन भट्टराईलाई ललितपुर राजस्व विभाग, ध्रुव पाण्डेलाई कर कार्यालय ललितपुरमा सरुवा गरेको छ ।
राजस्व अनुसन्धान विभाग र सम्पत्ति सुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय मातहतमा लगे पछि अर्थको मातहतमा अहिले भन्सार विभाग र आन्तरिक राजस्व विभाग मात्र छन् । आन्तरिक राजस्व विभागको मातहतमा आन्तरिक राजस्व कार्यालय, मध्यम करदाता कार्यालय, ठूला करदादाता कार्यालय लगायत छन् । आन्तरिक राजस्व कार्यालयको मातहतमा आयकर, अन्तशुल्क, र मूल्य अभिबृद्धिकर राखिएको छ ।