arrow

लक्ष्मीपूजाको समय ऊर्जामन्त्री स्युचाटारमा, कतै पनि बत्ती नजाने

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
barsarman-pun-minister-ncp.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिबार नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेर देशभरको विद्युत माग र आपूर्ति अवस्थाको बारेमा जानकारी लिएका छन् ।  

शनिबार साँझ देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन्। 

नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मीपूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ । 

 विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन कायम रहोस् भनेर  आफैं एलडिसीमा उपस्थित भएको मन्त्री पुनले बताए । “ तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मीपूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि म त्यहाँ पुगेको हुँ”, मन्त्री पुनले भने । 

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भएकाले ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशवासीलाई अपिल गरे ।

 सञ्चालक समितिको निर्णयानुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखलाई तिहारका अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ । भारप्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । 

अत्याधुनिक प्रविधिजडित सो केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष तथ्याङ्कीय अवलोकन गर्न सकिन्छ । 

 प्राधिकरणका अनुसार शनिबार साँझको  समयमा अधिकतम विद्युत माग एक हजार २०० मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा हाल एक हजार ३०० मेगावाट विद्युत उपलब्ध छ । 

मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।  मन्त्री पुनलाई भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका थिए।



लोकप्रिय समाचार
नयाँ