दार्चुला । भारतको उत्तराखण्ड स्थित पिथौरागढ जिल्लाको धारचुलाका ब्यापारीहरुले सिमा पुल खुला गर्न माग गरेका छन् । बिगत ८ महिनादेखि सिमा पुल बन्द हुँदा आफूहरुको व्यापार शून्य भएको भन्दै व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका हुन् ।
नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुल गत चैत्र ११ गतेदेखि बन्द रहेको छ । धारचुलाको व्यापार नेपालीहरुमा निर्भर रहेकाले पुल बन्द हुँदा व्यापार व्यवसाय नराम्ररी प्रभावित भएको छ । अहिले सो पुल कुनै आपतकालीन प्रयोजनको लागि केही समयमात्रै खुल्ने गरेको छ ।
आपतकालीनका लागि मात्र खोलिने तथा व्यापारका लागि बन्द गरिएको भन्दै अहिले उनीहरुको सिमा पुलमा धर्ना दिन थालेका छन् । उनीहरुले तिहारको समयमा तीन दिन लगातार पुल खोल्न माग गर्दै सिमामा धर्ना दिएका थिए । दार्चुला (धारचुला जोड्ने झोलुङ्गे पुल) नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा दुबै देशका नागरिकको प्रवेशको लागि खुला गरिँदै आएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।