विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना संक्रमित भएका छन् । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस संक्रमित सङ्ख्या पनि कम देखिएको छ । सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो ।
सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने मंगलबार डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।