राँझा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका-५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५:१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहेका थिए ।
थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।
मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए ।
योसँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ ।