काठमाडौं । स्पेन र फ्रान्स युरोपियन नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेका छन् । लिग ‘ए’ अन्तर्गत मंगलबार राति भएको समूह ४ को खेलमा जर्मनीलाई ६–० गोल अन्तरले हराउँदै स्पेन फाइनल चरणमा पुगेको हो ।
जर्मनीको यो लज्जास्पद हार हो । जर्मनीले कुनै पनि औपचारिक प्रतियोगितामा यति फराकिलो हार बेहोरेको थिएन । अहिलेसम्मकै फराकिलो हार दिलाउने क्रममा स्पेनिश खेलाडी फेरान टोरेसले ह्याट्रिक गरे ।
इंगलिश प्रिमियर क्लब म्यान्चेस्टर सिटीका टोरेसको यो करियरमै पहिलो ह्याट्रिक हो । कीर्तिमानी जितका लागि अल्भारो मोराटा, रोड्री र मिकेल ओयाजाबालले १–१ गोल गरे । यो समूहको स्वीटजरल्याण्ड र युक्रेनबीचको खेल भने स्थगित भएको थियो ।
यसैगरी लिग ‘ए’ समूह ३ को खेलमा स्वीडेनलाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्स पनि फाइनल पुगेको छ । फ्रान्सलाई जिताउन ओलिभर जिरुले २ तथा बेन्जामिन पभार्ड र किंगस्ले कोमानले १–१ गोल गरे ।
यो समूहको अर्को खेलमा क्रोएसियालाई ३–२ गोल अन्तरले हराएको पोर्चुगल भने फाइनल चरणमा पुग्न सकेन । यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्नुको सट्टा पहेंलो कार्ड खाएका थिए । रुबेन डायसले २ तथा जाओ फेलिक्सले १ गोल गरेका थिए ।
मंगलबार राति भएका अन्य खेलको नतिजा
लग्जेम्बर्ग ०–० अजरबैजान
मोन्टेनेग्रो ४–० साइप्रस
अन्डोरा ०–५ लात्भिया
माल्टा १–१ लेचस्टेन