काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता टिकाउन चिनियाँ दूतावास निकै नै सक्रिय देखिएको छ । प्रायः नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मर्यादा नै नाघेर नेकपाको एकता टिकाउन सुरुआतदेखि नै प्रयास गर्दै आएकी छिन् । यसपटक गत शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्तावका रुपमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना र लान्छनायुक्त आरोप पत्र सचिवालय बैठकमा पेश गरेपछि फेरि एकपटक पार्टी फुटको तरङ्ग छाएको छ ।
उक्त तरङ्ग रोक्नका लागि चिनियाँ दूतावासले मंगलबार मात्रै चार वटा छुट्टाछुट्टै मिटिङ गरेको छ । यी मिटिङहरु छिटो सन्देश फैलाएर एकता टुट्न नदिन गरिएको प्रयास स्वरुप भएको पनि दूतावास निकट स्रोतले बताएको छ ।
राजदूत यान्छी स्वयंले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेकी छिन् ।
त्यस्तै विभिन्न तहमा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु एवं व्यापारी तथा उपाध्यक्ष बामदेवा गौतमसँग चिनियाँ दूतावासका प्रतिनिधिले भेट गरेका छन् ।
उच्च स्रोतका अनुसार यान्छीले प्रधानमन्त्री ओलीलाई राति ८ः१० देखि १०ः१० बजेसम्म दुई घण्टा बालुवाटारमा गएर छलफल गरेकी छिन् ।
त्यसैगरी दूतावासका वाणिज्य विभागका जाओ जिउरोङले प्रचण्ड निकटका व्यवसायी अजेयराज सुमार्गीलाई भेटेका छन् । उनले साँझ ६ः३० बजे नयाँ बानेश्वरमा सुमार्गीलाई भेटेर छलफल गरेका हुन् ।
त्यस्तै दूतावासका राजनीतिक विभागका प्रमुख वाङ जिउरोङले नेकपाका महासचिव, अर्थमन्त्री एवं ओली निकटका नेता विष्णु पौडेललाई भेटेका छन् । उनीहरुबीच पौडेल निवास भैसेपाटीमा ५ः४५ देखि ६ बजेसम्म भेट गरेका हुन् । पौडेलले पार्टी एकता जोगाइराख्न प्रचण्डसँग पनि पटक पटक छलफल गरिरहेका छन् ।
पौडेललाई भेट्नुअघि जिउरोङले नेकपा उपाध्यक्ष बामदेव गौतमसँग गौतम निवास भैसेपाटीमै भेट गरेका थिए । उनी साँझ ५ः१० देखि ५ः३५ बजेसम्म भैसेपाटीमा रहेका थिए ।
त्यस्तै दूतावासका राजनीतिक एट्याचे सेक्रेटरी लुओ जिनयाङले नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालसँग साँझ ५ बजे ललितपुरमा भेट गरेका थिए ।
यी भेटमा सबैले नेपाली नेता तथा व्यापारीलाई चिनियाँ सरकारको स्पष्ट नीति र सन्देश सुनाइएको थियो । यो सन्देश पार्टी एकता जोगाउन गरिएको प्रयासका रुपमा बुझिएको छ ।
योसँगै नेकपाको टुक्रिने निश्चित जस्तै भएको एकतालाई फेरि चीनले जोगाइदिने अनुमान गरिएको छ । चिनियाँ दूतावासको कुटनीतिक मर्यादा विपरीतको यो भेटको भने सामाजिक संजालमा चर्को विरोध भइरहेको छ ।
चिनियाँ दूतावास नेकपाका लागि ‘प्रभु’ को रुपमा खडा हुँदै आएको छ । चीनकै कारण तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकता सम्भव भएको थियो भने पटक पटक टुक्रिनबाट जोगाउँदै आएको छ ।