काठमाडौं । इटाली र बेल्जियम युरोपियन नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेका छन् । लिग ए अन्तर्गत समूह १ को खेलमा इटालीले बोस्निया एन्ड हर्जगोविनालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल चरणमा स्थान बनाएको हो ।
इटालीलाई जित दिलाउन आन्द्रे बेलोटी र डोमेनिको बेरार्डीले १–१ गोल गरे । यो समूहको अर्को खेलमा नेदरल्याण्डले. पोल्याण्डलाई २–१ गोल अन्तरले हरायो । इटालीले १२ अंकसहित अर्को चरणमा स्थान सुरक्षित गरेको हो । नेदरल्याण्डको ११, पोल्याण्डको ७ तथा बोस्नियाको २ अंक रह्यो ।
समूह २ को खेलमा बेल्जियमले डेनमार्कलाई ४–२ गोल अन्तरले हराएर फाइनल चरणमा पुग्यो । बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ तथा योरी टेलेमान्स र केभिन डे ब्रुनेले १–१त्त गोल गरे ।
यो समूहको अर्को खेलमा इंगल्याण्डले आइसल्याण्डलाई ४–० अन्तरको जित निकाल्यो । फिल फोडेनले २ तथा डेक्लान राइस र मासन माउन्टले १–१ गोल गरेर टिमलाई जिताए पनि अर्को चरणमा इंगल्याण्ड पुग्न सकेन ।
बेल्जियम १५ अंकसहित अर्को चरणमा पुग्दा डेनमार्क र इंगल्याण्डको १०–१० अंक रह्यो । आइसल्याण्ड अंकविहीन भयो ।
यसअघि समूह ४ को खेलमा जर्मनीलाई ६–० गोल अन्तरले हराउँदै स्पेन र समूह ३ को खेलमा स्वीडेनलाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्स पनि फाइनल पुगेको थियो ।