काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले वर्तमान समस्याको समाधान खोज्नका लागि नेतृत्वलाई आग्रह गरेका छन् । उनले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र जाडोयाममा यसले थप असर पुर्याउने भन्दै त्यसको रोकथाम र अस्तव्यस्त भइसकेको आर्थिक पाटो सुधार्न प्रतिपक्षीको भूमिका सशक्त हुनुपर्ने भएकाले नेतृत्वलाई सक्रिय हुन आग्रह गरेका हुन् ।
सामाजिक संजाल फेसबुकमार्फत आफ्ना विचार लेख्दै सांसद राजभण्डारीले सत्ताधारी दल सबै कुरा छाडेर व्यक्तिगत स्वार्थमा लागेको भन्दै यस्तो बेलामा प्रमुख विपक्षी दलले चुप लागेर बस्नुभन्दा अन्य विपक्षी पार्टीहरुलाई पनि समेटेर समान विचारका साथ समस्या समाधान गर्न रचनात्मक र वाध्यात्मक वातावरण बनाउन आग्रह गरेका छन् ।
उनले कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाउन पनि आग्रह गरेका छन् ।
यस्तो लेखेका छन् सांसद राजभण्डारीले फेसबुकमा–
वर्तमान संकट समाधानको कदम अनिवार्य !
चाडपर्वको अन्त्यसँगै बढ्दो हिंउदको जाडोमा कोरोना महामारी बढिरहेको छ । सम्पूर्ण उपाय लगाएर महामारी नियन्त्रण गर्ने काम अहिलेको सबभन्दा संकटकालीन प्राथमिकताका रुपमा लिईनु पर्छ । आगामी दिनहरू थप भयानक, चुनौतीपूर्ण र आर्थिक संकट झन् गहिरिएर जाने निश्चित छ ।
महामारीको बेलामा सत्तारुढ पार्टीले सबै कुरालाई छोडेर मुलुक र अर्थतन्त्रको बर्वादी नियन्त्रण (ड्यामेज कन्ट्रोल) गर्न गम्भीरतापूर्वक सबै उपाय लगाउनु जरुरी थियो । तर व्यक्तिगत र गुटगत स्वार्थले गर्दा सत्तारुढ पार्टी आफैं अकर्मन्य भएको अवस्था छ ।
यही अवस्थामा विदेशी चलखेल देखिएको हुनाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गम्भीरतापूर्वक यो अवस्थालाई संस्थागत रुपले संवोधन गर्ने बेला आएको छ ।
संस्थागत निर्णय र निष्कर्ष बनाउन छोडेर व्यक्तिगत विचार पोखेर मात्र समस्याको समाधान हुँदैन । त्यसैले नेपाली काँग्रेसले भौतिक दूरी (फिजिकल डिस्टेन्स) का नियम पालना गर्दै केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाउनु एकदमै जरुरी भईसकेको छ ।
पार्टीको दुवै निकायका सम्पूर्ण सदस्यलाई महामारीको कारणले बैठकमा सहभागी गराउन सम्भव नभए पार्टीका पदाधिकारीहरू र संसदीय दलबाट परराष्ट्र, अर्थ, स्वास्थ्य मामिलाका अनुभवी, जानकार र क्रियाशील सदस्यलाई राखेर वर्तमान संकटबारे बैठक र साझा निर्णय गरियोस् ।
प्रमुख प्रतिपक्षी पार्टी भएकोले अन्य विपक्षी पार्टीहरूलाई पनि नेपाली काँग्रेसले समेट्ने र समान विचारका साथ समस्या समाधान गर्न रचनात्मक र बाध्यात्मक वातावरण बनाउन म विशेष आग्रह गर्दछु ।
जय नेपाल !