arrow

समाजसेवी फुल्लेलको अभियानमा संकलित रकम चार पीडितलाई हस्तान्तरण 

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
help-arghakhachi.jpg

चुत्रावेसी । अर्घाखाँचीका विभिन्न पीडितलाई सहयोगार्थ रकम संकलन भइरहेको छ । समाजसेवी एवं नेपाली कांग्रेस अर्घाखाँची प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ ‘क’ का सचिव ताराप्रसाद फुल्लेलको अभियानमा संकलित रकम सम्बन्धित पीडितलाई हस्तान्तरण गरिएको छ । उक्त संकलित रकम कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ ले हस्तान्तरण गरेका हुन् । 

फरक फरक परिवेशका अर्घाखाँचीका पीडितहरु प्रवेश सेजवाल, सुनिता विक, मुमबहादुर सेजवाल र श्रृष्टि अधिकारीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य तथा कानुन विभाग प्रमुख पिताम्वर भुसालको अगुवाईमा संकलित रकम एक लाख ११ हजार १२ रूपैयाँ र अमेरिका सिकागो निवासी समाजसेवी रवि विश्वकर्मा को अगुवाईमा संकलित १२ हजार ४५५ रुपौयाँ गरी एक लाख २३ हजार ४६७ रुपैयाँ संकलन भएको थियो । 

उक्त सहयोग रकम अमेरिका निवासी समाजसेवीहरू कृष्ण पोख्रेल, अर्जुन बन्जाडे, नेत्रबन्धु पोख्रेल, बाला घिमिरे, नारायण थापा, ऋषि अधिकारी, वालकृष्ण घिमिरे, धनंजय बराल, बेरि सिंग, नवराज खड्का, नारायण सिंखडा, निराजन गौतम, निशान आचार्य, गणेश जिशी, केदार श्रेष्ठ र वसन्त खनालबाट संकलन गरिएको थियो । 

उक्त हस्तान्तरण कार्यक्रममा यस अभियानका अभियानकर्ता ताराप्रसाद फुल्लेलसँगै मालारानीका पार्टी सभापति शोभाखर खनाल, छत्रदेवका पार्टी सभापति मुमलाल खनाल, मरेङका पूर्व सभापति ज्ञानबहादुर पाण्डे, छत्रदेव ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, मरेङमा पूर्व सभापति विष्णुप्रसाद श्रेष्ठ, छत्रदेवकी कार्यपालिका सदस्य शारदा खनाल, छत्रदेव ८ का पार्टी सचिव उमबहादुर पाण्डे, नेपाल कानुन पत्रकार महासंघका महासचिव तेजेंद्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

को हुन् सहयोग प्राप्त गर्ने पीडितहरु ?
प्रवेश सेजवालः
जीविकोपार्जनको सिलसिलामा दिनभरको काम सकाएर साँझ घर फर्किंदै गर्दा घर नजिकैको भिरबाट लडेर अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नं। ८ (घैयार) निवासी ८८ वर्षीय वृद्ध टेकबहादुर सेजवालको छोरा २८ वर्षीय प्रवेश सेजवाल घाँटीको हड्डीसँगै श्वास प्रश्वास नली भाँचिएर टाउकोमा रगत जम्मा भई चितवनस्थित पुरानो मेडिकल कलेजमा केहि महिना अगाडि डा. विनोद भट्टराईले अप्रेशन गरेका थिए । परिवारमा ५५ वर्षीया आमा जुना सेजवाल, २७ वर्षीया श्रीमती सावित्रा सेजवाल, ४ वर्षे छोरी निकिता सेजवाल छन् । औषधि उपचारमा सम्पत्ति सकिएर ऋणधन गरी उनको उपचार परिवारले गरिरहेको छ । प्रवेशको सहयोगार्थ ६८ हजार ५०० रुपैयाँ सहयोग हस्तान्तरण गरियो । 

सुनिता विकः दुवै मृगौलामा संक्रमण भई (लुपस नेफ्राइटिस) भन्ने रोगबाट ग्रसित छत्रदेव गाउँपालिका वार्ड नं. ८ (सिठेनी) निवासी टुल्कबहादुर विक (प्रकाश) की श्रीमती २२ वर्षीया सुनिता विकलाई २० हजार रुपैयाँ हस्तान्तरण गरियो । उनका साथमा दुई नाबालक छोराहरु छन् । 

सुनितालाई यो भन्दा अगाडि पनि सहयोग रकम संकलन गरी हस्तान्तरण गरिएको थियो । उनको समाजसेवी ताराप्रसाद फुल्लेलको विशेष पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यबाटसमेत उपचारमा सहयोग भइरहेको छ ।

मुमबहादुर सेजवालः भारतमा मजदुरी गर्दै आएका सेजवाल मेरूदण्डमा मासु पलाएर काम गर्न नसक्ने अवस्थामा पुगेर घर फर्किए । आफन्त र साथीभाइको सहयोगबाट काठमाडौंको शिक्षण  अस्पतालमा गई एक वर्षअघि शल्यक्रिया भएको थियो । शल्यक्रियापछि सामान्य व्हिल चेयरमा बस्न मात्रै सक्ने अवस्थामा छन् । ४१ वर्षे सेजवालका २ छोरी र १ छोरा छन् । उनकी श्रीमती र छोरी अरूको मेलापात गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनलाई २० हजार रुपैयाँ हस्तान्तरण गरियो । 

श्रृष्टि अधिकारीः छत्रदेव ८,काफलखर्क निवासी दुवै मृगौलामा संक्रमण भई लुपस नेफ्राइटिस भन्ने रोगबाट ग्रसित १२ वर्षे बालिका श्रष्टिका लागि १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । उनका बाबु छोरीको गर्जो टार्न मजदूरी गर्छन् । उनको काठमाडौंमा उपचार भइरहेको छ । स्थिति सामान्य नरहेको बताइएको छ । 

त्यसैगरी कोरोना भाइरससँग लड्न छत्रदेव गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा पिताम्बर भुसालले २४ हजार रुपैयाँ सहयोग गरेका छन् । 



लोकप्रिय समाचार
नयाँ