काठमाडौँ । पछिल्लो २४ घण्टामा थप सत्र जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २७६ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो २४ घण्टामा थप एक्काइस सय तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८०५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८६४ महिला र एक हजार २३९ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । पछिल्लो समय थप दुई हजार ८५८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । निको हुने दर ८६ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् । देशभर ७१७ जना क्वारेन्टिनमा र २५ हजार ३४७ होम आइसोलेशनमा छन् । संक्रमितमध्ये ३८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५१३ महिला र ७१६ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँमा १२ हजार ४४१, ललितपुरमा दुई हजार २४४ र भक्तपुरमा ९८९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँ ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।