गौरीघाट । पृथ्वीमा दानवहरूको अत्याचार बढीरहेको थियो । सबै देवताहरू र ब्रम्हाजी मिलेर पृथ्वीमा आएको संकट मोचनका लागि क्षीरसागरको छेउमा गएर पुरुषसूक्तव्दारा परमात्माको स्तुती गर्न लागे । स्तुती गर्दागर्दै ब्रम्हाजी समाधि अवस्थामा पुग्नुभयो । त्यसै समयमा आकाशवाणी भयो ।
आकाशवाणी सुनेपछि ब्रम्हाजीले आकाशवाणी अनुसारको कार्य गर्नका लागि सबै देवताहरूलाई आ आफ्नो अंश लिएर पृथ्वीमा अवतरित भएर भगवान्को लीलामा सामेल हुन आदेश दिए । यसरी आदेश दिएपछि उनी अन्तर्धान भए ।
बसुदेवको घरमा स्वयं भगवान् प्रकट हुनु हुनेछ भनेर उनको आज्ञा अनुसार राधाको सेवाका लागि देवांगनाहरू जन्म लिन गए । यसैगरी योगमाया पनि आफ्नो कार्य पूरा गर्न अवतरित हुनुभयो । पृथ्वीलाई पनि ब्रम्हाजीले उनको दुःख हट्ने आश्वासन दिनु भयो ।
शुरसेन नामका राजा थिए । उनको छोराको नाम बसुदेव थियो । वसुदेवको देवकीसंग विवाह भएको थियो । देवकीका बाबुको नाम देवक थियो । विवाह गरेर दुलहा दुलही अनमाउने बेलामा कंसले अनेका प्रकारको सजि सजाउ भएको रथमा राखेर बहिनी र ज्वाई (देवकी र बसुदेव)लाई पुर्याउन जांदै थिए । त्यही बेलामा आकाशवाणी भयो । आकाशवाणीले “हे मुर्ख कंस, तैंले जसलाई रथमा राखेर यात्रा गरिरहेको छस्, त्यसैको आठौं गर्भबाट जन्मेको शिशुले तेरो ज्यान लिनेछ” भन्ने सन्देश दियो ।
यस प्रकारको आकाशवाणी भएपछि स्वभावले नै क्रुर कंसले तरवार लिएर बहिनीलाई मार्न उद्यत भए । यस्तो स्थिति देखेपछि जसलाई पनि डर लाग्नु स्वाभाविकै हो । बसुदेवजीले उनलाई अनेक प्रकारले सराहना गर्दै सम्झाउनु भयो । उहाँले भन्दै जानुभयो, “हे बाबु, संसारमा जन्म लिएर आएपछि नमर्ने कोही छैनन् । जन्मनासाथ मर्नुपर्ने समय तोकिएको हुन्छ । शरीर अन्त्य भएपछि जीवले अर्को शरीरमा प्रवेश गर्छ र पुरानो शरीरलाई छोड्दछ । मानिसहरु हिंड्दा एउटा खुट्टा टेकेपछि मात्र अर्को खुट्टा उचाल्छन् जीव पनि त्यस्तै हो । जीवको शरीरमा अनेक विकृति, वासना आदि जम्मा भईरहेको हुन्छ । मर्ने बेलामा उसको सारा कर्मको फल एकै ठाउंमा थुप्रन्छ । मर्ने बेलामा जे सम्झना गर्यो त्यही गति उसले पाउंदछ । त्यसैले आफ्नो कल्याण चाहने पुरुषले कसैसंग पनि द्रोह गर्नुहुन्न । जसलाई तिमी मार्न भनेर उद्यत भएका छौ ती नवविवाहिता दुलही तिम्री बहिनी हुन्, त्यसैले मार्नु उचित हुंदैन भन्दै उसलाई सम्झाउनु भयो । क्रमश...
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com