काठमाडौं । कोरोना पीडित राष्ट्र क्यानडाले गरिब देशहरुलाई कोरोना भाइरसको भ्याक्सिन दिएर सघाउने भएको छ । आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने भ्याक्सिनको मात्रा संचित गरिसकेको क्यानडाले बाँकी खोप भने कम आय भएका देशहरुलाई सहयोग गर्ने बताएको हो ।
क्यानडामा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दो छ । शुक्रबार बिहानसम्म क्यानडामा ३ लाख ११ हजार ५५४ जना संक्रमित भएका छन् । जसमा बिहीबार ४ हजार ६४५ जना संक्रमित थपिएका छन् ।
७९ जनाको ज्यान गएको छ भने हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ११ हजार २६५ पुगेको छ ।
तीन करोड ८० लाख जनसंख्या रहेको क्यानडाले ४१ करोड ४० लाख भन्दा बढी भ्याक्सिन अर्डर गरिसकेको छ । क्यानडाले अरु कुनै पनि देशले आफ्ना नागरिकका लागि जोहो गरेको भन्दा बढी संख्यामा खोप व्यवस्था गरिसकेको बताइएको छ ।
क्यानेडियन सरकारको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखे अनुसार उसले विश्व स्वास्थ्य संगठनमार्फत् यो सहयोग उपलब्ध गराउने छ ।
कोभ्याक्सका लागि क्यानडाको जस्तै सहयोगका लागि अरु केही धनी देशलाई पनि उत्प्रेरित गरिरहेको उक्त संगठनले जनाएको छ ।