काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा खोलिएको खोलिएको पानीजहाज कार्यालय टुहुरो जस्तो भएको छ। एकान्तकुनामा रहेको पानीजहाज कार्यालय निजामती कर्मचारीहरुकोलागि सबैभन्दा कम आकर्षक ठाउँ हो । सरकारी कर्मचारीहरु सकेसम्म पानी जहाज कार्यालयमा जानै नपाए हुन्थ्यो भन्ने ठान्छन् । गए पनि सोर्सफोर्स लगाएर त्यहाँबाट अन्य कार्यालयमा सरुवा मिलाइ हाल्छन् । पानीजहाज कार्यालयमा कार्यरत कर्मचारीलाई अन्य कार्यालयका कर्मचारीहरुले व्यंग्य गर्छन । यती मात्र होइन, पानीजहाज कार्यालयमा कार्यरत कर्मचारीलाई आफ्नै घर परिवार र समाजले पनि काम नदिएर थन्क्याइएको ठान्ने गर्छ । ‘समुद्र नभएको ठाउँमा पानीजहाज कार्यालय ?’ सबैको भनाइ यही हुन्छ ।
पानीजहाज कार्यालयमा प्रमुख पद (रजिष्टार) १६ महिना देखि खाली छ । २०७६ भदौमा तत्कालिन रजिष्टार ऋषि कोइरालाले अवकाश लिए पछि अहिलेसम्म त्यस ठाउँमा कोही गएका छैनन् । विपिन राजभण्डारीले निमित्त रजिष्टार भइ काम चलाएका छन् । संगठन तथा व्यवस्थापन (ओएनएम)सर्वे रिपोर्टमा पानीजहाज कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । तर हाल उक्त कार्यालयमा १० जना कर्मचारी मात्र कार्यरत छन् । ६ दरबन्दी खाली छ । पानीजहाज कार्यालयका सूचना अधिकारी राजन प्रधानले दरबन्दी अनुसार कर्मचारी पठाउन सम्बन्धित निकायमा आग्रह गरिएको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार पानीजहाज कार्यालयमा कर्मचारी जानै चाहन्नन् । ‘त्यसैले त्यस कार्यालयमा सधैं कर्मचारीको अभाव हुने गर्छ’ मन्त्रालयका एक उपसचिव भन्छन् । २०७५ फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा ओलीले राष्ट्रिय झण्डा सहित नेपालले चाँडै महासागरमा पानीजहाज चलाउने बताएका थिए । तर त्यस यता पानीजहाज कार्यालयले सिन्को समेत भाँचेको छैन । बरु उल्टो २०७६ फागुनमा पानी जहाज कार्यालयले १ करोड ४३लाख ९८ हजार रुपैयाँमा महगों मूल्यको सुविधासम्पन्न गाडी खरिद गरेका थियो ।
पानीजहाज कार्यालय स्रोतका अनुसार उक्त कार्यालयले नेपालका ठूला नदीमा सानो प्रकृतिको पानीजहाज चलाउने योजना बनाएको छ । यस सम्बन्धी कानुनको मस्यौदा समेत तयार गरिएको छ । कार्यालयका कर्मचारीका अनुसार उक्त मस्यौदा पास गर्न भौतिक पूर्वाधार मन्त्रालयमा पठाइएको छ । तर मस्यौदा कहिले पास हुने हो ठेगान छैन । न त नेपालका ठूला नदीमा कहिले पानीजहाज चल्ने हो, त्यो पनि ठेगान छैन । तर पानीजहाज कार्यालय कर्मचारीहरु काम नपाइ दिनभर घााम तापेर दिन विताउने गर्छन ।