काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप उन्नाइस सय पैतालीस जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार २०५ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । पछिल्लो समय थप पाँच हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् । यो कूल संक्रमितको ११.४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । संक्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।