काठमाडौं । टाइगर पप अर्थात् अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका टाइगर पपले एक विराटा ब्रिटा कार पनि पुरस्कार स्वरुप पाएका छन् ।
आइतबार राति भएको फिनालेमा टाइगरले उपाधि जितेसँगै आफ्नी आमाका लागि एउटा घर किन्न चाहेको बताएका छन् । उनकी आमा अरुको घरमा गएर भाँडा माझ्ने काम गर्थिन् ।
गुरुग्रामका टाइगरले जसरी पनि आफूले यो उपाधि जित्नका लागि मुम्बई आइपुगेको बताएका थिए । उनले अब आगामी दिनमा देशको नाम संसारभर फैलाउन लाग्ने बताएका छन् ।
आफूले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शन गर्न चाहेको पनि बताएका छन् । उनले बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको ठूलो फ्यान भएको भन्दै जिन्दगीमा मौका मिले उनीहरुको कोरियोग्राफी गर्न चाहेको बताए ।
सोनी टिभीले हरेक हप्ता शनिबार र आइतबार प्रशारण गर्दै आइरहेको उक्त डान्स शोको फिनालेमा टाइगरसँगै मुकुल जैन, सुब्रनिल पल, परमदीप सिंह र श्वेता वारियर रहेका थिए ।
उक्त शोमा मलाइका अरोरा, टेरेन्स लेविस र गीता कपूर (गीता माँ) जज रहेका थिए भने हालै मात्र गाँजा सेवनको आरोपमा पक्राउ परेका कमेडियन जोडी भारती सिंह र हर्ष लिम्बाचिया कार्यक्रम संचालक रहेका थिए ।