काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको गोप्य भेटले यतिबेला राजनीतिक वृत्तमा तरंग फैलिएको छ ।
प्रधानमन्त्री ओलीको पटक पटकको आग्रहपछि शनिबार अचानक भेटवार्ताका लागि बालुवाटार पुगेका देउवासँग ओलीले पार्टी भित्रको आन्तरिक झगडा सुनाउँदै संकट आइपरे सत्तासाझेदारीमा सघाउन आग्रह गरेका छन् ।
देउवाका सहयोगी भानु देउवाका अनुसार भेटमा संवैधानिक अंगहरु र विश्वविद्यालयमा रिक्त उपकुलपति सहित पदाधिकारी नियुक्त गर्ने विषयमा कुराकानी भए पनि नेकपाको आन्तरिक किचलोका विषयमा पनि छलफल भएको थियो । उनका अनुसार ओली र देउवाबीच करिब डेड घण्टा छलफल भएको थियो ।
देउवा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार गएका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले आफूविरुद्ध पार्टीभित्र षड्यन्त्र भइरहेको र त्यस्तो अवस्था आउँदा कांग्रेससँग सहकार्य गर्न आफू तयार रहेको देउवालाई सुनाएका थिए ।
गत २८ कार्तिकमा बसेको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव दर्ता गरेका थिए ।
सो प्रस्तावलाई प्रधानमन्त्री ओलीले आफूमाथिको प्रहारका रुपमा लिएका छन् । सो प्रस्तावका विषयमा १३ मंसिरमा बस्ने सचिवालय बैठकमा लिखित जवाफ दिने प्रधानमन्त्री ओलीको तयारी छ ।
यसअघि १७ असारमा समेत नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्रीले विपक्षी दलका सभापतिलाई बालुवाटार बोलाएर भेटेका थिए । त्यसबखत देउवा सुटुक्क बालुवाटार गएको भन्दै पार्टीभित्र भेटबारे प्रष्ट पार्नुपर्ने भन्दै देउवाको चर्को आलोचना भएको थियो ।
देउवा निकट एक नेताले भने नेकपा नफुटी सत्ता साझेदारी कसरी होला ? भन्दै सत्ता साझेदारी बारे आश्चर्य प्रकट गरे ।
‘संवैधनिक अंगमा भागबण्डा त होला तर नेकपा नफुटी सत्ता साझेदारी त असम्भव छ,’ देउवा निकट ती नेताले हाम्राकुरासँग भने, ‘पार्टी फुटे कांग्रेससँग सहकार्य गर्न ओली तयार रहेछन् ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटको सुचना बाहिरिए लगत्तै आइतबार ‘कोही कसैलाई भ्रम छ भने’ भन्दै पार्टीलाई पाँच वर्ष विपक्षमा बस्न जनादेश रहेको भनेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमार्फत लेखेका छन्, ‘५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहने छौं । यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस् ।’
प्रायः सत्तारुढ दलभित्र आन्तरिक कलह बढ्दा बालुवाटरले विपक्षी दलका नेतासँगको झुकाव देखाउँदै आएको पाइन्छ । शनिबारको भेटपछि भने विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा सहमति जुटाउन सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट लेखकलाई जिम्मा दिइएको स्रोत बताउँछ ।
तर नेम्वाङले भने प्रधानमन्त्री र विपक्षी दलका नेताबीच बेलाबेला भेट हुने गरेको स्वभाविक भएको बताए ।
‘प्रधामन्त्रीले विपक्षी दलका नेतासँग बेला बेला भेट्दै आउनु भएको छ, अहिले पनि त्यस्तै होला, देशको समसामयिक राजनीतिक विषय र समस्याका विषयमा छलफल भएका हुन सक्छन्, म यति मात्र भनौं,’ नेम्वाङले भने ।
हाल संवैधानिक निकायमा ४८ पद रिक्त छ भने धेरैजसो विश्वविद्यालयहरुमा उपकुलपति सहित पदाधिकारी छैनन् ।