पार्टी नफुटाई ओलीको निरन्तरतालाई सघाउन आग्रह गर्दै खुमलटार पुगिन् यान्छी
नेकपाको सम्भावति फुट बचाउन चिनियाँ दौडधुप जारी
प्रकाशित २०७७ मंसिर ८ सोमबार
126
Shares
काठमाडौं । आफैले जोडिदिएको तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतालाई जोगाइराख्न चीनले भरमग्दूर प्रयास गरिरहेको छ । आफ्नो प्रयासमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बचाइराख्न चीन सक्रिय भएको हो ।
यसैक्रममा नेपालस्थित चीनकी राजदूत हाउ यान्छी र राजदूतावासको समूह पुरै सक्रिय भएको हो। यसैक्रममा राजदूत हाउ यान्छी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेकी छिन् । सोमबार बिहान खुमलटार पुगेर यान्छीले पार्टी एकतालाई कुनै पनि हालतमा फुट्न नदिन भूमिका खेल्न प्रचण्डसँग आग्रह गरेकी छिन् ।
उनले चीन सरकारको सन्देश फेरि पनि प्रचण्डको कानमा पार्दै अहिलेको एकता र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको निरन्तरतालाई सघाउन आग्रह गरेकी हुन् । यान्छीले नेकपा फुटाउने अनेक षड्यन्त्रहरु भइरहेको भन्दै षड्यन्त्रको पछि लाग्नुभन्दा एकतालाई अझ मजबुद बनाउन आग्रह गरेकी छिन् ।
प्रचण्डले गत कार्तिक २८ गते १९ पृष्ठ लामो राजनीतक प्रतिवेदन पेश गर्दै ओलीको असफलताको फेहरिस्त बाहिर ल्याएका थिए । त्यसको जवाफ दिन तयार ओलीले पनि १० दिनको समय मागेर प्रचण्डका बिरुद्ध फेहरिस्त उतार्ने आफू निकट प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेललाई जिम्मा दिएका छन् । सचिवालय बैठक मंसिर १३ गते बस्दैछ । चिनियाँ रक्षामन्त्रीको नेपाल आगमनले उक्त सचिवालय प्रभावित हुन सक्ने आशंका गरिए पनि उनी मैसिर १४ गते मात्र काठमाडौं झर्ने बुझिएको छ ।