हङ्कङ्। कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ। सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुनेभएका हुन्। घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ।
शैक्षिक संस्थाहरु बन्द हुनेभएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ। पछिल्लो पटक थपिएकाहरुसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ।
इन्डोनेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितहरु ५६ हजार ६५९ जना रहेका छन्। बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन। तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन्।