काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ।
दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशको भू–भागमा सामान्यदेखि आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू–भागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।
सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
काठमाडौं उपत्यकाको मंगलबार बिहानको तापक्रम ६.२ डिग्री सेल्सियस रह्यो । दिउँसो काठमाडौं उपत्यकाको तापक्रम २० डिग्रीसम्म रहन सक्ने जनाएको छ ।
सबैभन्दा न्यून माइनस १ डिग्री जुम्लामा रह्यो भने अधिकतम तापक्रम भैरहवामा २७.६ डिग्री रह्यो ।
पछिल्लो २४ घण्टामा कतै पनि वर्षा भएन । चिसो मौसममा कोरोना भाइरस पनि झनै बढी फैलने भन्दै विज्ञहरुले जाडोबाट बच्न सुझावसमेत दिइरहेका छन् ।