काठमाडौं। नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई मधेश द्रुतमार्गको कुल निर्माण प्रगति १६ दशमलब २१ प्रतिशत पुगेको छ । हालसम्म १६ अर्व ६६ करोड कुल वित्तिय खर्च भएको आयोजनाको निर्माण कार्य विभिन्न कारणले ढिला भएको भन्दै सेनाले हाल भने कामले गति लिएको र निर्धारित समय सिमा भित्रै निर्माण सकिने जनाएको छ ।
आयोजना एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने छ भने ललितपुर, काठमाण्डौं, मकवानपुर र बारा जिल्ला गरी ७२ दशमलब ५ किलोमीटर लामो दुरी रहने आयोजनाले बागमती प्रदेश र प्रदेश २ का गरी चार जिल्ला छुने छ । नीजगढलाई सो मार्गको अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ ।
‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पक्डेको छ, जसबाट यसको समयसीमा भित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ ।’ सेनाले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ ।
सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइ सकेपछी पनि स्वीकृती हुन नसक्नु तथा अन्तराष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाई तथा कोभिड १९ का कारण केही समय आशातित गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ । हाल भने अन्तराष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटील पाटोको रुपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनिहरुको छनौटको लागि मुल्याङ्कन कार्य भइरहेको सेनाले बताएको छ ।
२१ बैशाख २०७४ को मन्त्रीपरिषद्को निर्णयबाट सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । यस्तै १ भदौ २०७६ मा सो आयोजनाको डीपीआर स्वीकृत गरिएको थियो । सो डिपिआर अनुसार आयोजनाको अनुमानित लागत १ सय ७५ अर्व रहेको र द्रुतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गर्ने गरी काम भइरहेको सेनाले बताएको हो ।
आयोजनाको हाल छैठौं चरणमा काम चलिरहेको छ । हालसम्म आयोजनाको वार्षिक प्रगति भौतिकतर्फ ४२ दशमलब ८५ प्रतिशत र वित्तियतर्फ ४२ दशमलब ८० प्रतिशत रहेको सेनाले जनाएको छ । यसैगरी समष्टिगत प्रगति भौतिकतर्फ १६ दशमलब २१ प्रतिशत तथा वित्तियतर्फ ९ दशमलब ५२ प्रतिशत रहेको छ । आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च १६ अर्व ६६ करोड रहेको सेनाले भनेको छ ।
आयोजनाको कुल लम्वाई ७२ दशमलब ५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६ दशमलब ४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १० दशमलब ५९ कि.मी. र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५ दशमलब ५ कि.मी.रहेको छ । जस अन्तर्गत आयोजनाको ४४ दशमलब १ कि.मी. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने कार्यहरु हालसम्म ८८ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।
२०७७ कार्तिक महिनासम्म सो आयोजनाको कुल कार्य अंशको थप ५ दशमलब १० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६ दशमलब २१ प्रतिशत प्रगति हासिल भएको सेनाले जनाएको हो । यसैगरी सुरुङ्ग खण्ड निर्माण गर्न परामर्शदाता छनौट भइ एक चरणको काम सकाएर रिपोर्ट तयार गर्ने काम भइरहेको र महादेवटार, धेद्रे र लेनडांडाबाट गरी कुल १८ वटा बोर होल्स ड्रिलिङ गर्ने कार्य अन्तिम चरणमा रहेको तथा ड्रिलिङ गरिएका स्थानको नमूना परिक्षण गर्ने काम भइरहेको छ ।
यस्तै सुरुङ्ग मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न हाल मूल्याङ्कनको कार्य भइरहेको छ । मुल्याङ्कनको कार्य यहि मंसीर मसान्तसम्म सम्पन्न गरी थप काम गरिने सेनाले बताएको छ । कार्यतालिका अनुसार चैत्र महिनासम्ममा सम्झौता सम्पन्न भइ सुरुङ्ग मार्गको कार्य शुरु गर्ने लक्ष्य सेनाको छ । यसैगरी पुल निर्माण, बेलिबृज निर्माण कार्य लगायतका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ भने सुरुङ्ग एवं पुल निर्माण लगायतका कार्यमा सहजताको लागि पहुंच मार्ग निर्माण गर्ने कार्य समेत भई रहेको छ।
आर्थिक वर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजना अन्तर्गत चालु आर्थिक वर्ष ०७७/०७८ को पूँजीगततर्फ ८ अर्व ८४ करोड र चालुतर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्व ९३ करोड ८८ लाख बजेट विनियोजन भएको सेनाले जनाएको छ ।