काठमाडौँ । स्थानीय बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।
प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाउ प्रतितोला रु एक हजारले घटेको छ । महासङ्घका अनुसार बुधबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ ।
मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन बुधबार रु एक हजारले घटेको हो ।
यस्तै मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि बुधबार प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ ।
सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन मंगलबार रु एक हजार ८०० ले ओरालो लागेको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी बुधबार भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो ।