काठमाडौं। विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई दिने भएको छ। प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठका अध्यक्षतामा मङ्गलबार बसेको प्रतिष्ठानको बैठकले पाल्पास्थित सामुदायिक रेडियो मदनपोखरामा दुई दशकदेखि कार्यरत अर्याललाई पुरस्कार दिने निर्णय गरेको हो।
रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पुर्याएवापत उनँलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव जीवन भण्डारीले जानकारी दिए।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष समेत रहेका तानसेन नगरपालिका वडा नं. १०, मदनपोखराका स्थानीय बासिन्दा अर्याललाई कसजुको पहिलो स्मृति दिवसका अवसरमा पुरस्कारको घोषणा गरिएको हो। उपयुक्त समयमा कसजुको गृहजिल्ला पाल्पामै समारोह आयोजना गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ।
प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको हो। प्रतिष्ठानले कसजुको विशेष योगदान रहेका बालबाहित्य, सूचनाको हक र सूचना प्रविधिको प्रयोगका क्षेत्रमा विशिष्ट योगदान गर्नेलाई पनि सम्मान गर्ने, अध्ययनअनुसन्धान गर्ने, विभिन्न सामग्री प्रकाशन गर्नेलगायत योजना बनाएको छ।
विक्रम संवत् २००४ मा पाल्पाको तानसेनमा जन्मिनुभएका कसजुका बालसाहित्यसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित छन्। गाउँले जनजीवनका लागि उपयोगी ‘देउराली’ पत्रिका निकालेर कसजुले नेपालमा ग्रामीण पत्रिकाको शुरुआत गरेका थिए। गत वर्ष आजकै दिन दिवङ्गत ग्रामीण पत्रकारिताका अगुवा, सहित्यकार एवं पहिलो प्रमुख सूचना आयुक्त कसजुको स्मृतिमा केही महिना अगाडि प्रतिष्ठान स्थापना भएको थियो। उनको निधनको ४५औँ दिनका पुण्यतिथिमा पाल्पाली सङ्गम काठमाडौँले श्रद्धाञ्जलिसभा आयोजना गरेर प्रतिष्ठान गठन गर्ने घोषणा गरेको थियो।
पाँच सदस्यीय कार्यसमिति रहेको प्रतिष्ठानको कोषाध्यक्षमा स्वर्गिय कसजुका छोरा अभिनव कसजु र सदस्यहरुमा साहित्यकार मन्जु ज्ञवाली र पत्रकार शैलज नेपाल हुनुहुन्छ । प्रतिष्ठानले स्वर्गिय कसजुकी श्रीमती गंगा कसजु र पाल्पाली संगम काठमाडौँका अध्यक्ष पदम न्यौपानेलाई संरक्षकमा मनोनयन गरेको छ ।