arrow

स्याङ्जालाई मौरीमा व्यवसायीक बनाउने 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ मंसिर १० बुधबार
honey-business-syangja.jpg

स्याङ्जा। मौरी पालन व्यवसायका लागि स्याङ्जा महत्वपूर्ण रहेको भन्दै किसानहरुलाई मौरीका गोला सहित आधुनिक घार अनुदानमा वितरण गर्न थालिएको छ। रेशम विकास कार्यक्रम अन्तर्गत स्याङ्जाका २ सय किसानलाई मौरीमा व्यवसायी बनाउन अनुदानमा मौरी वितरण गरिएको हो। रेशम खेतीको अबधारणा सगै यो कार्यक्रमले रेशम खेती सगै मौरी र च्याउ खेतीमा किसानहरुलाई व्यवसायीकरण गराउन लागेपछि किसानहरुमा उत्साह थपिएको छ। मौरी अनुशासित र कर्मशिल प्राणी हो।

इमान्दार र लगनशिलतामा निर्भर रहने मौरी पालक किसानहरुका लागि रेशम बिकास कार्यक्रमले सुनौलो अवसर जुटाईदिएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने मौरी पालन व्यवसाय हो । मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायले किसानको मुहार फेरिनेमा कृषि विज्ञहरु बताउदै आएका छन् । स्याङ्जामा १२ महिना मौरीका लागि चरनको उपलब्धता भएकाले जिल्लालाई मौरी पालन व्यवसायलाई महत्वपूर्ण मानिएको छ रेशम विकास कार्यक्रम वालिङका प्रमुख विनोद हमालले बताए । अनुदानमा पहिलो पटक एक—एक घार दिएर मौरी पालनका लागि सिकाउदै छौ प्रमुख हमालले भने,  ’मौरी व्यवसायमा किसानलाई आत्मनिर्भर बनाउन यो अभियानको शुरुवात गरिएको छ ।’ प्राकृतिक र हावापानी राम्रो भएकोले मौरी व्यवसाय फस्टाउन सक्ने सम्भावना देखेर यो कार्यक्रम अगाडी सारेका हमालले बताए।

५० प्रतिशत नेपाल सरकार र ५० प्रतिशत किसानले व्यहोर्ने गरी वितरण गरिएको छ। पहिलो चरणमा स्याङ्जामा ९६ मौरीका आधुनिक घार सहित शेरना जातको मौरी वितरण गरिएको छ। यो जातको मौरी नेपालको हिमाल, पहाड र तराईमा काम गर्न सक्ने जात भएकाले स्याङ्जामा पनि वितरण गरेको कार्यलयले जनाएको छ। पराग सेचनमा अत्यन्तै छिटो काम गर्ने र धेरै मह उत्पादन गर्ने यो मौरी जाडो र घाम दुवै सहन सक्ने प्राणी हो।

४२ सालबाट रेशम खेतीको मात्रै काम गर्दै आएको रेशम विकास कार्यक्रम कार्यालयले यो आर्थिक बर्षबाट च्याउ र मौरीमा पनि किसानलाई व्यवसायीक बनाउन लागेको हो। रेशम खेती सगै च्याउ र मौरी एक अर्काको परिपुरक व्यवसाय भएकाले यहाँका किसानलाई ३ ओटै उत्पादनमा जोड दिने गरी कार्यक्रम अगाडी बढाएको रेशम विकास कार्यक्रम कार्यालय वालिङ स्याङ्जाका प्रमुख हमालले बताए। यो कार्यालय ११ ओटै जिल्ला हेर्नेगरी कृषि स्रोत विकास केन्द्रमा बिस्तार भएको छ हमालले भने,‘बिस्तारै गण्डकी प्रदेशलाई अन्नवालीमा व्यवसायीकरणमा लाग्ने छौं।’ जसले स्याङ्जा लगायत प्रदेश नै कृषिमा आत्मनिर्भर हुनेछ उनले भने।

मौरीका घारले हामीलाई व्यवसायीकता तर्फ उन्मुख गर्नेमा ढुक्क रहेको किसानहरुले बताएका छन्। एउटै घारबाट हामी जसरी पनि मौरी व्यवसायीक बन्ने लक्ष्य राखेको स्थानीय किसान ख्यामनारायण रेग्मीले बताए। मौरीको ज्ञान नहुदा यो व्यवसायको चासो थिएन उनले भने,‘अब यसको महत्व र उत्पादनबारे सिक्दै जानेछौं।’ मौरी बालक देखि बृद्ध सम्मले पाल्न सक्ने र मौरीबाट उत्पादन हुने मह बालक देखि बृद्ध सम्म उपयोगी हुनाले पनि मौरी प्रति पछिल्लो समय आकर्षण बढ्दै जान थालेको छ। कृषि प्रति किसानलाई आकर्षण बढाउन रेशम बिकास कार्यक्रमले ल्याएको अनुदानको उपयोगिता हुनु जरुरी छ। सरकार र किसान विचको साझेदारी अभियानले पक्कै पनि व्यवसायमा अपनत्व हुन्छ भन्ने विश्वास लिइएको छ। यसको अधिकतम फाईदा उठाई किसानले लाभ लिने विश्वास कार्यालयको छ।



लोकप्रिय समाचार
नयाँ