बेलबारी । देशकै प्रतिष्ठित स्वास्थ केन्द्र मानिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पछिल्लो समय पार्टी, नेता र मन्त्रीका आफन्त र कार्यकर्ता भर्ति गर्ने केन्द्र बनेको छ । पछिल्लो समय प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालका ज्वाइँ र भतिजालाई नियुक्त गरेका छन् ।
मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा हालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले हाल सालै विभिन्न पदमा आफन्तहरुलाई नै नियुक्ति गरेपछि उनी बिवादमा मुसिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका भतिज र ज्वाइँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियुक्त भएका हुन्। बीपी प्रतिष्ठान धरानमा मन्त्री ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृतसरहको पदमा नियुक्ति भएका हुन् ।
त्यस्तै बीपी कोईराला प्रतिष्ठानमा स्वास्थ्यमन्त्री ढकालका स्वकीय सचिव भुवन खतिवडाका दाजुले पनि नियुक्ति पाएका छन् ।
ढकालका स्वीकय सचिव भुवन खतिवडाका दाजु चिरञ्जीवी खतिवडाले कानुनी सल्लाहकारको रुपमा जिम्मेवारी पाएका हुन् । ढकाल मोरङ क्षेत्र नं ३ बाट निर्वाचित भएर हाल स्वास्थ्यमन्त्री भएका हुन । उनले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई हराएका थिए ।