काठमाडौं। सरकारद्धारा प्रतिबन्धित नेकपा माओवादी (विप्लव) समूह सहित सो समूहको नाममा चन्दा आतंकको गुनासाहरु बढ्न थालेका छन। विप्लव समूह सहित सो समूहको नाममा चन्दा माग्ने क्रम बढेको र त्यस्ता उजुरी स्थानीय प्रसासनमा आउने क्रम बढेको गुनासो पछि सुरक्षा निकायहरुले निगरानी बढाएका छन।
गृह मन्त्रालयले समेत जनप्रतिनिधि, निर्माण व्यवसायी , उद्योगी र कर्मचारीहरुबाट स्थानीय प्रसासनमा चन्दा मागेका उजुरी सहितका गुनासाहरु आउन थालेको सुचना आएको बताएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले जनप्रतिनिधि, निर्माण व्यवसायी, उद्योगी र केही कर्मचारीहरुबाट विभिन्न समूहका नाममा चन्दा माग भएका गुनासाहरु स्थानीय प्रसासनमा आएका सुचनाहरु आउन थालेको बताए।
उनले कानुनद्धारा बर्जित त्यस्ता गतिविधि गर्ने जो कुनै समुह वा व्यक्ति भए पनि कडा निगरानी र कारवाही गर्न निर्देशन भइसकेको जानकारी दिए। ‘चन्दा असुली बढेको सूचनाहरु आउन थालेका छन, कुनै पनि व्यक्ति वा समूहका नाममा चन्दा असुली गर्न पाइदैन, त्यस्ता समूह वा व्यक्तिमाथी निगरानी बढाउन र कारवाही गर्न निर्देशन भइसकेको छ, त्यस्तो कतै भए सुचना दिनुस,’ गृह प्रवक्ता बुढाले हाम्राकुरासँग भने।
विप्लव समूहललाई सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिवन्ध लगाएको छ। प्रहरीले समेत विप्लव समूहमा आबद्ध रहेका तथा सो समूहबाट आर्थिक गतिविधिमा मुछिएर कारवाहीमा परेकाहरु चन्दा आतंकमा संलग्न हुन थालेको सुचना अइरहेको बताएको छ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जो कुनै समूहका नाममा पनि चन्दा माग्न नपाइने र त्यस्ता गतिविधिमा संलग्न रहेकाहरुलाई कानुनी दायरामा ल्याइने बताए।‘कुनै पनि समुहका नाममा चन्दा माग्न पाइदैन, त्यस्ता गतिविधिमा संलग्नलई कारवाहीको दायरामा ल्याउन प्रहरी सक्रिय छ, कानुनी दायरामा ल्याइन्छ,’ प्रहरी प्रवक्ता कडायतले भने।
महानगरीय अपराध महाशाखाका प्रमुख समेत रहेका एसएसपी दिपक थापाले पछिल्लो समय चन्दा वापत ठूलो रकम माग गर्ने र नदिए ज्यान मार्ने सम्मको धम्की दिने गरेको गुनासाहरु आएको पाइएको जानकारी दिए। महाशाखाले केही समय अघि मात्रै विप्लव समूहको नाम लिएर एजुकेसनल कन्सल्टेन्सी व्यवसायीसँग तीन करोड रुपैयाँ चन्दा मागेको अभियोगमा चार जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका २ का विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका ३ का रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका ५ का तीर्थमान तामाङ र चितवन भरतपुर १३ का नन्दुराज आचार्य छन। उनीहरुले पहिले विप्लव समूहमा रहेर काम गरेको तर अहिले सो समूह छाडेको बयान प्रहरी समक्ष दिएका छन।महाशाखा प्रमुख थापाले त्यस्ता गतिविधिमा संलग्नहरु बिरुद्ध सुक्ष्म निगरानी र अनुगमन बढाइएको बताए।
सरकारले प्रतिवन्ध यता हालसम्म विप्लव समूहका १ हजार ८ सय नेता कार्यकर्तालाई पक्राउ गरी कारवाही गरिएको जनाएको छ।