पोखरा । यस वर्षको युआरएल पत्रकारिता पुरस्कार पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले स्थापना र सञ्चालन गरेको सो पुरस्कारको राशि नगद २० हजार रुपैयाँ र ताम्रपत्र छ ।
अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पत्रकार पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल प्रेस युनियन कास्कीका सचिवसमेत रहेका पौडेल इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख हुन् । उनी रेडियो बाराहीमा पनि कार्यरत छन् ।
पौडेललाई यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सवको अवसर पुरस्कार अर्पण गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
युआरएल पत्रकारिता पुरस्कारबाट यसअघि पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा र सुरेन्द्र पौडेल पुरस्कृत भइसकेका छन् ।