काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधन भएको छ । कोइरालाको शुक्रबार बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कोरोना भाइरस संक्रमणको उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।
कोइराला मोरङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत थिए।
कोइरालाको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
कोरोना भाइरसको संक्रमण भएका उनका दाजुको बिहिबार मृत्यु भएको थियो। नोबेल मेडिकल कलेजमा उपचाररत् उनका ७१ वर्षीय दाजु गोपाल कोइरालाको पनि मृत्यु भएको थियो ।
ईश्वरीलाई २ मंसिर बिहान अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा त्यही दिन कोरोना पोजेटिभ देखिएको थियो । पुनः परीक्षण गर्दा मंसिर ९ गते रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएपछि उनको अवस्था गम्भीर थियो ।
कोइरालाका चार दाजुभाइमध्ये गोपाल जेठा र ईश्वरी साइँला हुन्। ईश्वरीको शुक्रबार बिहान ११ बजे र गोपालको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।