काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्दैछ । शनिबार दिउँसो १ बजे बैठक बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनको खण्डनसहितको जवाफ दिने छन् ।
प्रचण्डले राजनीतिक प्रतिवेदन भने पनि ओलीले यसलाई आरोपपत्र मात्र भएको भनेका छन् । सोही अनुसार उनले राजनीतिक प्रतिवेदन नभई आरोपपत्रको जवाफ दिने गरी तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका हुन् । ओलीले प्रचण्डले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् ।
थापाले आधारभूत रुपमा ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताए । उनले प्रधानमन्त्री ओली आरोपबारे सामना गर्न तयार भएको बताए ।
यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।
आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।
पहिलो पटक नेकपा एकतापछि दुवै अध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेश गर्दैछन् ।