डाक्टरलाई नै कोरोना संक्रमण भएपछि सिल गरिएको अस्पताल फेरि खुला
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
134
Shares
हुम्ला। जिल्ला अस्पताल हुम्लामा कार्यरत एकजना चिकित्सकलाई कोरोना संक्रमण भएपछि सबै सेवा बन्द गर्ने गरी मंसिर ७ गतेबाट सिल गरिएको अस्पताल खुला गरिएको छ। अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले बिहबारबाट सबै सेवाहरु खुला गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कृष्णचन्द्र जैशीले जानकारी दिए।
डाक्टरलाई समेत कोरोना संकमण देखिएपछि अस्पताल प्रशासनले सूचना टाँसेर यहि मंसिर ७ गतेबाट अस्पताल सिल गरेको थियो। जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण हुन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरी तत्काल अस्पताल सिल गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख जैशीले बताए।
पछिल्लो समय हुम्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएसँगै गत कात्तिकको दोस्रो साताबाट सञ्चालन गरिएका जिल्लाका सबै बिद्यालय बन्द रहेका छन्।