हुम्ला । हुम्ला जिल्लाका सातवटा स्थानीय तहका ४४ वडामा रहेका ५ हजार ९ सय ७९ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । देशभर छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको हो ।
गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा हिन्दुहरुको महान् चाड दशैं परेकाले एक महिनापछि मंसिर ११ र १२ गते खुवाईएको हो । देशभरि झै हुम्लामा पनि ५ बर्ष मुनिका ५ हजार ९ सय ७९ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहोराले बताइन् ।
यसअघि कोरोना भाइरसका कारणले बैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो । हुम्लाका ७ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको हो ।
सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।
भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइन्छ । हुम्ला जिल्लाका ४४ वडाका २ सय २४ जना स्वास्थ्य स्वयंसेविका भिटामिन ‘ए’ कार्यक्रममा संलग्न रहेको अनमी बोहोराले बताइन् ।
जिल्लाभरका छ महिनादेखि ५९ महिनासम्मका पाँच हजार नौ सय ७९ जना बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको हो ।
राष्ट्रिय कार्यक्रम अन्तर्गत वितरण गरिने भिटामिन ए ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने भएकाले ६ महिनादेखि १२ महिना उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिएको छ । त्यस्तै १२ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई आधा ट्याब्लेट र २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई एक ट्याब्लेट जुका विरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानएको छ ।
कुपोषणबाट बचाउन ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्व मिश्रण बालभिटा पनि वितरण गरिएको छ ।
यदि कहि कतै भिटामिन ‘ए’ खुवाउन छुटेका छन् भने आइतबार सदरमुकामका लागि जिल्ला अस्पताल र ग्रामिण क्षेत्रका लागि स्वास्थ्य स्वयंसेविकाले खुवाउने ब्यबस्था स्वास्थ्य सेवा कार्यालय हुम्लाल गरेको अनमी बोहोराले बताइन् ।