काठमाडौँ । थप बाह्र सय पचपन्न जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १२ हजार ५९० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४०४ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ९०९ सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौँ उत्यकामा थप ५४८ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख सात हजार ५९६ पुगेको छ ।
आइतबार थपिएका संक्रमितमध्ये काठमाडौँका ४२२, ललितपुरका ६१ तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार १९ कोरोना संक्रमितको मृत्यु भएको थियो ।