इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् ।
सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गरेका छन् । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसंघर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरेका छन् ।
“पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन् तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो” खनालले भने, “अन्तरसंघर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।”
उनले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताए । उनले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गरे ।